अनुगमन र कारबाही सुरू भएपछि सबै पम्प खुले

६ चैत्र २०७६, बिहीबार ०८:३०

काठमाडौं, कोरोनो भाइरसको त्रास देखाएर बजारमा व्यापारीको लापरबाही बढेपछि उद्योग वाणिज्य तथा आपूतिमन्त्री लेखराज भट्टले पेट्रोल पम्पको अनुगमन गरेका छन् । बुधबार बिहान मन्त्रीले पम्प अनुगमन गरेपछि दिउँसो पेट्रोल पम्पमा लाइन न्यून देखिएको छ ।

उपत्यकाका सबै पम्पले पेट्रोलियम पदार्थ बिक्री गरेपछि उपभोक्ता लामो लाइन बस्नु परेन । बुधबार सामान्य लाइन भएको र लामो लाइन हटिसकेको नेपाल आयल निगमले जनाएको छ ।

बिहीबार पूर्ण रूपमै लाइन हट्ने निगमको दाबी छ । गएको आइतबारदेखि पम्पहरूमा पेट्रोल र डिजेल भर्नेको लामो लाइन देखिएको थियो तर बुधबार भने लाइन घटेको छ । सरकारले पम्पहरूलाई कारबाही गर्न थालेपछि बुधबार सबै पम्पले बिक्री गरेका छन् ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मङ्गलबार राति मैतीदेवी पेट्रोल पम्म र सत्याल एन्ड किराना पसल टीकाभैरवलाई दुई लाख रुपियाँका दरले जरिवाना गरेपछि बुधबार पेट्रोलियम पदार्थको वितरण सहज देखिएको छ । भण्डारण गरेर कृत्रिम अभाव सिर्जना गरकाले उनीलाई कारबाही गरिएको थियो ।

बुधबार विभागले दुईवटा पम्प र छवटा ग्यास पसलमा अनुगमन गरेको छ । अनुगमनमा सामान्य अवस्था देखिएको विभागले जनाएको छ । विभागले कुनै पनि वस्तु भण्डारण गरी कृत्रिम अभाव सिर्जना गरेमा वा तोकिएको मूल्यभन्दा बढी लिएमा ११३६ नम्बरमा फोन गरेर जानकारी दिन उपभोक्तालाई अनुरोध गरेको छ ।

पम्पसँगै मन्त्री भट्टले ग्यास पसल तथा तरकारी बजारको अनुगमन गरेका थिए । सुरक्षाकर्मीबिना उपभोक्ताको शैलीमा बजार अनुगमन गरेका मन्त्रीले बजारमा ग्यास तथा पेट्रोल वितरणको अवस्थाबारे स्थलगत जानकारी लिनुभएको थियो । कालीमाटीको तरकारी बजारमा पनि उनले अनुगमन गरेका थिए ।

कडा कारबाहीको चेतावनी
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरेको पाइएमा कडा कारबाही गरिने चेतावनी दिएको छ । निगमले बुधबार सूचना जारी गरी बजारमा पेट्रोलियम पदार्थ सहज भएकाले हल्लाको पछि नलाग्न उपभोक्तालाई आग्रह गरेको छ ।

पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरी उपभोक्ता भयभित बनाएर फाइदा उठाउने कार्यमा निगमका बिक्रेता, ढुवानीकर्ता तथा एलपी ग्यास बिक्रेताको संलग्नता पाइएमा निगमले कडा कारबाही गर्ने जनाएको छ ।(आजको गोरखापत्र दैनिकबाट)