कोरोनाको प्रभावः ग्यास, पेट्रोलको कृत्रिम अभाव

४ चैत्र २०७६, मंगलवार १४:२०

काठमाडौं , नेपाली बजारमा कोरोनाको प्रभावले विभिन्न उपभोग्य वस्तुको कृतिम अभाव हुन थालेको छ।
राजधानीका विभिन्न पेट्रोल पम्पमा उपभोक्ताहरु घन्टौं लाइन बस्न बाध्य भएका छन्।

व्यवसायीले ग्यास, पेट्रोलको कृत्रिम अभाव सिर्जना गरी मौकाको फाइदा उठाउन थालेका छन्। नेपाल आयल निगमले सोमबार मध्यरातिदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको छ। निगमले पेट्रोल, डिजेल र मटीतेलतर्फ प्रतिलिटर दुई रुपैयाँ र आन्तरिकतर्फ हवाई इन्धनमा प्रतिलिटर चार रुपैयाँ ५० पैसा मूल्य घटाएको हो।

सोमबार रातिदेखि लागू हुने गरी पेट्रोलको मूल्य एक सय ६ रुपैयाँ, डिजेल र मटीतेलको मूल्य ९५ रुपैयाँ कायम गरिएको छ। यसअघि पेट्रोलको मूल्य प्रतिलिटर एक सय आठ र डिजेल तथा मटीतेलको ९७ रुपैयाँ थियो। यस्तै आन्तरिकतर्फको हवाई इन्धनतर्फ चार रुपैयाँ ५० पैसा मूल्य घटाएर हवाई इन्धनको मूल्य ९० रुपैयाँ कायम गरिएको छ।