
काठमाडौं, कांग्रेस सांसद डिला संग्रौला पन्तले विश्वभर कोरोना भाइरसको संक्रमणको त्रास फैलिएको र आवश्यक सतर्कता अपनाई रहेका बेला नेपाल सरकार भने गैरजिम्मेवार बन्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण गराउनु भएको छ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
विश्वका मुलुकले आफ्ना नागरिकलाई सुरक्षित बस्न अपिल गर्दै आवश्यक क्वारेन्टाईन लगायतको व्यवस्था मिलाई रहेका बेला सरकारका स्वास्थ्यमन्त्रीले जनतलाई आफै क्वारेन्टाईनमा बस्नुपर्छ भनी गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै उहाँले जिम्मेवार मन्त्रीले त्यस्तो अभिव्यक्ति दिन नमिल्ने तर्क गर्नु भयो ।
कोरोना भाइरसको संक्रमणको जोखिमको त्राससँगै बजारमा खाद्यान्न, ग्यास, औषधि, मास्क, सेनिटाईजर लगायत सामान अभाव भएको भन्दै खाद्यान्न अभाव हुन नदिने व्यवस्था गर्न पनि उहाँले ध्यानाकर्षण गराउनु भयो ।
