
काठमाडौं, राजधानीमा उत्कृष्ट दाबी गर्दै चर्को शुल्क असुल्ने निजी विद्यालयले विद्यार्थी ओसार्न भने भाडाका थोत्रा गाडी प्रयोग गर्ने गरेका छन् ।
तर, भाडाका पुराना गाडीमा दैनिक चार घन्टासम्म धुलो र जाममा घुमाउने तिनै केही विद्यालयले बालबालिकालाई बढी सुविधा दिएको भन्दै ‘क’ श्रेणीभन्दा माथिल्लोस्तरको शुल्क असुलेका छन् ।
विद्यालयले उपलब्ध गराएको सुविधाअनुसार सरकारले विद्यालयलाई ‘क’, ‘ख’ ‘ग’ र ‘घ’ चार स्तरमा वर्गीकरण गर्दै आएको छ । सरकारले शिक्षा नियमावलीअनुसार गर्ने वर्गीकरणका आधारमा विद्यालयले लिन पाउने शुल्क निर्धारण हुन्छ ।
विशिष्ट सुविधा दिएका विद्यालयले अभिभावकको भेलाबाट निर्णय गराई ‘क’ श्रेणीमा परेको विद्यालयले भन्दा अझै बढी शुल्क लिन पाउने व्यवस्था छ ।
तर, काठमाडौंमा ‘विशेष सुविधायुक्त’ भनिएका महँगा विद्यालयले समेत विद्यार्थी ओसार्न भाडाका पुराना गाडी प्रयोग गरेका छन् । एक विद्यालय हो, रातो बंगला । विद्यालय तहको शिक्षाको अधिकार स्थानीय तहमा नजाँदै शिक्षा मन्त्रालयले रातो बंगलालाई ‘विशेष सुविधायुक्त’ भनेर अनुमति दिएको हो ।
ललिपुरका जेम्स र प्रिमियम स्कुलले पनि विशेष सुविधायुक्तका लागि माग गरेका छन् । ललितपुर महानगरपालिकाका शिक्षा प्रमुख महेन्द्र क्षेत्रीले जेम्स र प्रिमियमले विशेष सुविधायुक्त माग गरेर आवेदन दिएको बताए ।
तर, संघीयता कार्यान्वयन भएपछि केही पालिकामा बाहेक विद्यालयको वर्गीकरण हुन सकेको छैन । कतिपयले पुरानै श्रेणीलाई मान्यता दिएका छन् ।
उपत्यकामा धेरै गाडी प्रयोग गर्ने निजी विद्यालयमा जेम्स, लिटिल एन्जल्स, मोडर्न इन्डियन, आइडियल मोडेल, नाइटिंगल, डिएभी सुशील केडिया, द चाँदबाग, पाठशाला, सिद्धार्थ वनस्थली, एलआरआई, भिएस निकेतनलगायत छन् ।
सरकारले विद्यालयका बसलाई पहेँलो रङको बनाएर प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ । तर, अधिकांश विद्यालयले केही गाडी पहेँलो रङका प्रयोग गरे पनि केही भाडाकै प्रयोग गरेका छन् ।
कतिपय विद्यालयका आफ्नै गाडी पनि पुराना भएका छन् भने भाडामा ल्याउने सार्वजनिक यातायातसमेत पुराना हुने गरेका छन् । सस्तोमा पाइने भएकाले अधिकांश विद्यालयले लिने भाडाका गाडी बा।१ख र बा।२ख लटका छन् । यस्ता बसले धेरै धुवाँ फाल्दा र घ्वारघ्वार आवाज निकाल्दा विद्यार्थीलाई असर गर्ने गरेको छ ।
चप्पल कारखाना, शंखपार्क, धुम्बाराही, सुकेधारा रुटमा चल्ने ललितपुर यातायातको बा।१ख ८७९९ नम्बरको बसले सांसद उमेश श्रेष्ठले चलाएको आइडियल मोडेल स्कुलका विद्यार्थी बोक्ने गरेको छ । यो उदाहरण मात्र हो । चलेका भनिएका विद्यालयले विद्यार्थी बोक्ने यस्तै पुराना भाडाका गाडी प्रयोग गर्छन् ।
सांसद श्रेष्ठकै लिटिल एन्जेल्सले विद्यार्थी ओसार्न सबैभन्दा बढी गाडी प्रयोग गर्छ । यो विद्यालयले आफ्नै र भाडाका गरी दैनिक सयको हाराहारीमा गाडी प्रयोग गर्छ । आधाजति सार्वजनिक यातायात भाडामा लिन्छ । सेन्ट मेरिजले पनि भाडाकै गाडी प्रयोग गर्दै आएको छ ।
उमेश श्रेष्ठ मात्रै होइन, नाइटिंगल स्कुलका सञ्चालक तेजुलाल चौधरी पनि अहिले सांसद छन् । निजी विद्यालयमा अन्य कतिपय नेतादेखि व्यापारीसम्मको प्रत्यक्ष–अप्रत्यक्ष लगानी छ । उनीहरू नीति निर्माणको तहसम्म पनि पुगेका छन् ।
उनीहरूले आफ्ना विद्यालयअनुकूल नहुने गरी नीति–नियम आउन नदिने र आए पनि कार्यान्वयन हुन नदिने गरेको शिक्षाका कर्मचारी बताउँछन् । ‘मन्त्रालय र मन्त्रीभन्दा बलिया निजी विद्यालय सञ्चालक भएकाले छाडापन नियन्त्रण गर्न कठिन छ, अहिले स्थानीय तहको जिम्मेवारी भन्दै पन्छिने गरेका छन्,’ एक कर्मचारीले भने ।(आजको नयाँ पत्रिकाबाट)
