प्रदेश ५ को सरकारमा मन्त्री थपिँदै, अर्घाखाँचीबाट आचार्यको चर्चा

२७ फाल्गुन २०७६, मंगलवार १६:३६

बुटवल , प्रदेश ५ का मुख्य मन्त्री शंकर पोख्रेलले मन्त्री मण्डल विस्तारको तयारी गर्नुभएको छ । बिभिन्न मन्त्रालय आफैसंग राखेर काम गर्नु भएका मुख्य मन्त्री पोख्रेलले लामोसमयपछि मन्त्री मण्डल विस्तार गर्ने तयारी गर्नुभएको हो । अहिले मन्त्री मण्डल ७ सदस्यि छ । अब नयाँ मन्त्री थप भएर मन्त्री संख्या १० हुने छ ।

मन्त्री बन्ने लाइनका सांसद
मुख्यमन्त्री शंकर पोख्रेलले थप गर्ने मन्त्रीको लिस्टमा कपिलवस्तु, प्युठान र कपिलवस्तुका सांसद छन् । जसमा कपिलवस्तुका विष्णु पन्थी, प्युठानका हरि रिजाल, अर्घाखाँचीका चेतनारायण आचार्य रहेका छन् । त्यसमध्ये पन्थीलाई आर्थिक मामिला तथा योजना मन्त्री, रिजाललाई कानुन र आचार्यलाई भूमि व्यवस्था मन्त्रीमा नियुक्त गर्ने मुख्य मन्त्री कार्यालयको तयारी छ ।

हाल आर्थिक मामिला तथा योजना मुख्यमन्त्री शंकर पोखरेलले नै सम्हाल्दै आउनु भएको छ । यसैगरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई छुट्टाछुट्टै बनाउने र भूमि व्यवस्था, कृषि तथा सहकारीबाट भूमि व्यवस्थालाई छुट्याउने तयारी छ।

आकांक्षी धेरै भएकाले वन तथा वातावरण मन्त्रालय पनि अलग गराउने विषयमा छलफल भइरहेको बुझिएको छ। हाल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय रहेको छ।

प्रदेश ५ मा दाङबाट निर्वा्चित शंकर पोखरेल मुख्यमन्त्री, रोल्पाका कुलप्रसाद केसी आन्तरिक मामिला तथा कानुन मन्त्री, नवलपरासीका बैजनाथ चौधरी भौतिक पूर्वाधार मन्त्री, रुपन्देहीका लिला गिरी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, गुल्मीका सुदर्शन बराल सामाजिक विकास मन्त्री र बाँकेकी आरती पौडेल भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारीमा रहेका छन् ।१२ जिल्ला रहेको प्रदेश ५ मा हरेक जिल्लालाई सम्बोधन गर्नेगरी बढीमा ११ सदस्यीय मन्त्रीपरिषद् गठन गर्न सकिने गरी खाका बनाइएको छ।( यो समाचार हिन्दुखबरले लेखेको छ ।)