
भक्तपुर , आज फागुन शुक्लपूर्णिमा अर्थात होली पर्व मनाइने दिन हो । तर, यसवर्ष विगतका वर्षमा झै होलीको रौनक कतै देखिएन ।
चीनको वुहानबाट फैलिएको कारोना भाइरसको माहमारी विश्वभर फैलिरहेका बेलामा नेपालमा पनि यसको संक्रमण फैलिन नदिन सरकारले समूहगत रूपमा होली खेल्न, पानी तथा लोला नखेल्न र जथाभावी रङ नदल्न गरेको आह्वान अनुरुप होलीको रौनक हराएको छ । आज दिउँसो भक्तपुरका मुख्य शहरदेखि काठमाडौंको बानेश्वरसम्म पुग्दा पनि होलीको रौनक देखिएन ।
कौशलटारमा रेडिमेड पसल सञ्चालन गर्दै आएका अनुप थापाले यस वर्षको होली निकै फिका भएको बताए । यस वर्ष निर्वाधरूपमा महिला सजिलै ओहोरदोहोर गरिरहेका, कतै लोला हान्ने, रङ दल्ने र पानी छ्याप्ने गरेको नदेखिएको र टिसर्टसमेत बिक्री नभएको उनले बताए । उनले भन्नुभने, ‘गतवर्ष होलीको दिनसम्म १५७ होलीका टिसर्ट बिक्री गरेको थिएँ, यसवर्ष बिक्री गर्न ल्याएको ३० टिसर्टमध्ये सात मात्रै बिक्री भए, त्यो पनि बच्चाको, कोरोनाले त होलीमात्रै हैन, व्यापार पनि चौपट पार्यो ।’
सरकारको आह्वानसँगै कोरोना भाइरसको संक्रमणको जोखिमले मानिस आफै सचेत भएर होली खेल्न नगएका हुन् । विगतका वर्षमा पर्यटकसमेत होलीमा रमाउने गरे पनि यस वर्ष पर्यटकसमेत होलीमा रमाएको देखिएन । भक्तपुर दरबारस्क्वायरका पर्यटन व्यवसायी पुरुषोत्तम धौभडेलले यस वर्षको होलीमा पर्यटक नआएकाले पर्यटकले होली मनाएर रमाइलो गरेको नपाइएको बताए । होलीमा पर्यटकसमेत नआउँदा पर्यटन व्यवसायसमेत सुनसान बनेको उनले बताए ।
विगतका वर्षमा साथीहरू जमघट भएर रेष्टुरेष्टमा रमाइलो गर्दै होली खेल्ने गरे पनि यसवर्ष भने परिवारसँग घरमै घाम तापेर बसेको सूर्यविनायक नगरपालिका– ३ बालकोट नयाँ बस्तीका आशिष न्यौपानेले बताए । यस वर्ष छोराछोरी पनि होलीमा कतै नगएको बताउँदै अहिले रमाइलो गर्ने भन्दा पनि सचेत हुने बेला भएको उनले बताए ।
कलेजका साथीसँग यस वर्ष मज्जाले होली खेल्ने एक महिना अघिदेखिको योजना रद्द गरेको बताउने कोटेश्वर जडीबुटीकी सुष्मा थापाले कोरोना संक्रमणलाई ध्यानमा राखेर होली खेल्ने योजना रद्द गरेको बताइन् । उनले भनिन्, ‘कक्षा १२ को जाँच आउनै लागेको छ, यसपाली साथीहरू सबै मिलेर रमाइलो गर्नुपर्छ भन्ने योजना थियो, तर रोक्यौँ, पहिला पनि होली खेलेकै हो, अर्को साल पनि खेलौला, तर यस वर्ष होली खेलिएन ।’
हरेक वर्ष फागुपूर्णिमाका दिनमा सडकभरी होली खेल्ने र कराउँदै रमाइलो गर्नेको भिडभाड देखिन्थ्यो भने यस वर्ष सडकमा होली खेल्ने जमात देखिएन । विगतका वर्षमा होलीका दिन सार्वजनिक यातायात ठप्प हुने भए पनि यस वर्ष सार्वजनिक यातायात पनि चलिरहेका छन् ।सौर्य अनलाइन
