
काठमाडौं, विसं २००७ को प्रजातन्त्र प्राप्तिको क्रान्ति पूर्व सुदूरपश्चिम प्रदेशमा शहीद दशरथ चन्द, मानवतावादी राजा जयपृथ्वीबहादुर सिंह, शहीद भीमदत्त पन्त र एण्डीप्रकाश चटौतको नाम सधैँ अग्रपङ्क्तिमै आउँछ ।
कञ्चनपुरको भीमदत्तनरस्थित सुदूरपश्चिमाञ्चलका पूर्व डीन डा।टेकराज पन्तले प्रजातन्त्र प्राप्ति र तत्कालीन जहानियाँ राणाशासनका विरुद्ध सुदूरपश्चिमको भूमिका पनि ऐतिहासिक रहेको बताउछन् ।
‘त्यो बेला द्वारिका ठकुरानी, रामसिंह रावल, शिवराज पन्त, दुर्गाप्रकाश जोशी, खेमराज जोशी र एण्डीप्रकाश चटौत प्रजातन्त्रको लडाइँमा समकालीन हुन्’, डा।पन्तले भने, ‘तत्कालीन बुद्धिजीवीदेखि यहाँका अग्रज नागरिकको पनि अहम् भूमिका छ ।’
पछिल्लो समय शहीद घोषणाको रफ्तारप्रति असहमति जनाउँदै उनले शहीद घोषणाको छुट्टै अन्तर्राष्ट्रिय मापदण्ड रहेको बताए । ‘मुलुक, समाज र परिर्वतनका लागि आहुति दिने सबै श्रद्धाका पात्र नै हुन्’, उनले भने, ‘सस्तो लोकप्रियताका लागि शहीद घोषणा गरेर वास्तविक चार शहीदको अपमान गर्नु हुँदैन ।’
त्यसैगरी बैतडीस्थित शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका उपाध्यक्ष विनोदबहादुर चन्दले समाज परिर्वतन र मुलुकका लागि शहीद चन्दले निभाएको भूमिका शब्दले वर्णन गर्न नसकिने बताउछन् ।
बैतडीको दशरथचन्द नगरपालिका–५ बस्कोटमा जन्मिएका शहीद दशरथचन्दको जन्म विसं १९६० असार १७ गते भएको थियो । कक्षा ५ सम्म बैतडीमै पढाइ गरेका शहीद चन्दले कक्षा १० (मेट्रिक) सम्म भारतको अल्मोडा पढेका थिए । त्यसपछि १९७७ कक्षा १२ सम्म पनि उनले भारतकै वनारसमा पढेका उपाध्यक्ष चन्दले बताए ।
‘विद्यार्थीकालमै भारतले अङ्ग्रेजकाविरुद्ध ‘भारत छोड अभियान’ सञ्चालन गर्दा दासत्वकाविरुद्धको आन्दोलन भएकाले त्यसको प्रभाव शहीद चन्दमा पनि प¥यो’, प्रतिष्ठानका उपाध्यक्ष चन्दले भने, ‘मुलुकमा राणा शासनविरुद्धको लडाइँ पनि स्नातक तहको अध्ययनबाट काठमाडौँमा शुरु गर्नुभएको थियो ।’
काठमाडौँको बसाई विसं १९८५ को मध्यतिर क्रान्तिकारी विचारधारा लिएर काठमाडौँ आएका चन्द तत्कालीन चिफ साहेव रुद्र शमशेरको सम्पर्कमा पुगे । विसं १९९० मा रुद्र शमशेर पाल्पा धपाइए । त्यो बेला सम्मद दशरथचन्द राणाका कट्टर विरोधी भइसकेका थिए । त्यति बेला उनी काठमाडौँ छोडेर भारततर्फ लागे ।
विसं १९९० को अन्त्यतिर बारा जिल्लाको मावादहमा चन्दको जम्काभेट टङ्कप्रसाद आचार्यसँग भयो । नेपाललाई राणाशासनबाट मुक्त गराउन दशरथचन्द, टङ्कप्रसाद आचार्य, रामहरि शर्मा, धर्मभक्त, चूडाप्रसाद शर्माजस्ता नवयुवक मिलेर विसं १९९३ जेठ २० गतेको शुभ दिनमा नेपाल प्रजापरिषद् नामक भूमिगत राजनीतिक संस्थाको स्थापना काठमाडौँ धर्मभक्तको घरमा गरेका थिए ।
शहीद चन्दको नामबाटै बैतडीमा नगरपालिका र डडेल्धुरादेखि झुलाघाटसम्म राजमार्गको नामकरण गरिएको छ भने धनगढी, भीमदत्तनगर, काठमाडौँ, डडेल्धुरालगायतका स्थानमा शालिक स्थापना गरेर उनीप्रति सम्मान गरिएको छ ।
‘कि त जोत हलो, कि त छोड थलो, यदि होइन भने अब छैन भलो’ भन्दै सशक्तरुपमा शुरु गरेको किसान आन्दोलनबाटै गरिब, किसान, शोषित, पीडित र सर्वहारा वर्गको मुक्ति देखेका शहीद भीमदत्त पन्तको पनि प्रजातन्त्र र परिवर्तनका पक्षमा आन्दोलनको बागडोर सम्होलका सामाजिक व्यक्तित्व थिए ।
विसं २००७ को प्रजातन्त्रका लागि क्रान्तिका लागि तत्कालीन अवस्थामा सुदूरपश्चिममा नेपाली काँग्रेसको सशक्त भूमिका रहेको काँग्रेस कञ्चनपुरका पूर्वपार्टी सचिव भोजराज बोहराको भनाइ छ । उनले सेती–महाकालीमा प्रजातन्त्रको क्रान्तिका बेला रुपसिंह र गौरीलाललाई पहिलोपटक खटाएको बताए ।
(आजको गोरखापत्र दैनिकबाट)
