यसकारण महराले बलात्कार प्रयासको मुद्दामा सफाइ पाए , अदालतद्वारा निर्दोष ठहर

५ फाल्गुन २०७६, सोमबार १९:०१

काठमाडौ । बलात्कार प्रयासको मुद्दामा निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाइ पाए। आरोपकै कारण सभामुख पद गुमाएका उनलाई अदालतले दिएको सफाइपछि प्रश्न उठेको छ-उनले सफाइ पाउनुको आधार के हो ? 

पीडित भनिएकी महिलाले महरा आफ्नो कोठामा नआएको बयान दिएको र महराले पनि महिलाको कोठामा गएको कुरा अस्वीकार गरेकाले महरालाई दोषी करार गर्नुपर्ने आधार नदेखिएको अदालतले भनेको छ। 

जिल्ला अदालत काठमाडौँका न्यायाधीश अमरराज पौडेलको इजलासले महरा निर्दोष रहेको फैसला गरेको हो।  पीडित भनिएकी महिलाको कोठामा भेटिएका रक्सीका बोतल लगायतका सामग्रीसँग महराको फिंगरप्रिन्ट परीक्षणबाट तुलनात्मक रुपमा नमिलेको फैसलामा उल्लेख छ । 

संसद सचिवालयकी महिला कर्मचारीमाथि उनकै निवासमा पुगेर जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेपछि तत्कालीन सभामुख महराले गएको असोज १४ गते पदबाट राजीनामा दिएका थिए।

असोज १९ गते सभामुख निवासबाटै पक्राउ परेका महरा कात्तिक १८ गतेदेखि डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा थिए ।

उनीविरुद्ध जबरजस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय अभियोगपत्रमा माग गरिएको थियो ।