वुहानबाट १७५ नेपालीको उद्दार, १० जना चीनमै रोकिए

४ फाल्गुन २०७६, आईतवार १०:२९

काठमाडौं, चीनको वुहान अन्तराष्ट्रिय विमानस्थलबाट १७५ नेपाली बोकेको नेपाल एयरलायन्सको विमान नेपाल आएको छ ।

कोरोना भाइरसको उद्गमस्थल चीनको वुहान प्रान्तको आसपासबाट वुहान अन्तराष्ट्रिय विमानस्थलमा जम्मा भएका १८५ नेपालीमध्ये १० जना चीनमै रोकिएका हुन्। १० जनामध्ये ६ जनामा उच्च ज्वरो देखिएपछि उनीहरु चीनमै रोकिएका छन् ।

विमानस्थलमा उनीहरुको पहिलो चरणको स्वास्थ्य परीक्षण गर्दा कसैलाई पनि संक्रमण नदेखिएपनि दोस्रो चरणको परीक्षण गर्दा उच्च ज्वरो देखिएको बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशील लम्सालले जानकारी दिए।

उनले स्वास्थ्य परीक्षणका क्रममा उच्च ज्वरो देखिएका ६ जनालाई विमानस्थलमै रोकिएको बताए। ‘उच्च ज्वरो आएका नेपालीलाई चीनमा नै चिकित्सकको निगरानीमा राखेर उपचार गरिन्छ,’ लम्सालले भने। अन्य ४ जना भने स्वदेश फर्कन मानेनन् ।

१८५ मध्ये १४३ छात्र छन् भने तीनजना बच्चासहितका ४२ छात्रा छन्। उनीहरु सबै वुहान आसपासका सहरबाट विमानस्थल आएका थिए।

चीङचउ, चीङमन, वनसी, शयान, यिथाङलगायत सहरबाट उनीहरु बस चढेर विमानस्थलमा आइपुगेका हुन्। कतिपय विद्यार्थी विभिन्न ठाउँको परीक्षण पार गर्दै उनीहरु एयरपोर्ट आइपुगेका हुन्। कतिपयले एयरपोर्ट आइपुग्न १२ घण्टाको बस यात्रा गरेका थिए।

१८५ नेपालीमध्ये १७९ जना विद्यार्थी हुन्। एकजना भने कामदार भिसामा चीन गएका नेपाली हुन् भने अन्य चारजना चीन घुम्ने क्रममा वुहान पुगेका थिए। उनीहरुको साथमा तीनजना बालबच्चासमेत भएको नेपाली दूतावासका उपप्रमुखले बताए।

लामो कष्टपूर्ण दैनिकीबाट छुटकारा पाउने र स्वदेश फर्किने दिन आइपुगेपछि विद्यार्थीमा उत्साह देखिन्छ। नेपाल सरकारले आफ्नो कुरा सुनेर फर्काउँन लाग्दा खुसी लागेको उनीहरुको भनाइ छ।

‘ढिला भए पनि सरकारले अभिभावकत्व निर्वाह गरेको अनुभव गरेका छौँ’, वुहान विमानस्थलमा रहेकी नेपाली विद्यार्थी प्रमिला देवकोटाले भनिन्, ‘हामी सरकारले अगाडि सारेको मापदण्ड अनुसार नै नेपाल पुगेर बस्नेछौँ।’ उनी पीएचडी गर्न चीन पुगेकी हुन्। विद्यार्थी विमानस्थलमा पुग्दा त्यहाँ पूरै हिउँ परेको थियो। (आजको अन्नपूर्ण पोष्टबाट)