नेकपा अहिलेको सर्वाधिक लोकप्रिय दलका रूपमा स्थापित भएको छः परराष्ट्रमन्त्री ज्ञवाली

२१ माघ २०७६, मंगलवार १६:५०

गुल्मी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले देश र जनताको हितलाई केन्द्रविन्दुमा राखेर सरकारले काम गरिरहेको बताउनु भएको छ । मन्त्री ज्ञवालीले मित्र राष्टहरुसँगको सम्बन्धलाई कसैले पनि तीतो बनाउन नहुने बताउनुभयो ।

आजदेखि गुल्मीमा शुरु हुने स्वास्थ्य बीमा घोषणा कार्यक्रमका सन्दर्भमा गृहजिल्ला पुग्नु भएका परराष्ट्रमन्त्री ज्ञवालीले प्रेस सङ्गठन नेपाल गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपालको राष्ट्रिय हित, जनताको लाभ र देशको विकास जेमा हुन्छ सरकार त्यसैमा अघि बढ्ने भन्दै एमसिसीको विस्तृत रूप (फुलफर्म) थाहा नभएकाहरुले यसका विरुद्धमा बजारमा बहस शुरु गरेको टिप्पणी गर्नुभयो ।

पार्टीहरु लोकतन्त्रका आधारस्तम्भ भएको भन्दै पार्टीहरु कमजोर हुँदा लोकतन्त्रसमेत कमजोर हुने उहाँले बताउनुभयो । दुइ वर्षको कार्यसम्पादनबाट वर्तमान सरकारको आत्मविश्वास बढ्दै गएको भन्दै मन्त्री ज्ञवालीले नेकपा अहिलेको सर्वाधिक लोकप्रिय दलका रूपमा स्थापित भएकोसमेत जिकिर गर्नुभयो ।

जनताको वर्षांैदेखिको समृद्धिको सपना यही सरकारले पूरा गर्ने बताउँदै मन्त्री ज्ञवालीले त्यसमा कोही पनि द्विविधामा नपर्न आग्रह गर्नुभयो ।