
काठमाडौं , ५० वर्षअघिको अन्तरजातीय प्रेमकथा कस्तो थियो होला ? यो कौतुहलको विषय हो। कर्णाली प्रदेशको हुम्लामा तत्कालीन अवस्थामा फष्टाएको उसबेलाको अन्तरजातीय पौराणिक प्रेमकथालाई त्यहाँका केही युवाले भिडियोमा उतारेका छन्। ‘रातो टालो’ नाम दिइएको यो भिडियो आगामी फागुन २ गते अर्थात् फेब्रुअरी १४ भ्यालेन्टाइनका दिन काठमाडौंमा प्रिमियर हुँदैछ। निर्माण समूहले सार्वजनिक हुन लागेको भिडियोको पोस्टर सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरमा युबिना भट्टराई र सूर्यबहादुर शाही फिचर्ड छन्।
भिडियोका निर्देशक डायमन्ड उप्रेतीले कर्णालीको कला, संस्कृति, चालचलन, भेषभूषा, रहनसहन समेटिएको बताए। ‘हुम्लाको खस भाषामा आधारित रहेर आजभन्दा ५० वर्षअघिको अशिक्षित समाज, शासन व्यवस्था र परम्परागत सत्यतथ्य कथामा आधारित रहेर अन्तरजातीय पौराणिक प्रेमकथालाई भिडियोमा समेटेका छौं’, निर्देशक उप्रेतीले भने, ‘भिडियोमा अहिलेको युवाले बुझ्नुपर्ने हिजो र आजको मायाको आभास तथा मायामा हुने अदृश्य द्वन्द्वलाई उजागर गरिएको छ। कानुनमा सीमित भए पनि ५० वर्षअघि जे थियो, अहिले पनि त्यो समाजले जातीय विविधतालाई स्वीकारिसकेको छैन।’
‘रातो टालो’ मा जगदीश हमालको प्रस्तुति, कथा, गीत, संगीत र स्वर छ। भिडियोमा जगदीश हमाल, शोभा शाही र छिरिङ सोनाम लामाको पनि अभिनय छ। आश्मा पोखरेलको सहनिर्देशन, इतुशा पोखरेलको छायांकन रहेको भिडियोमा अविनाश लामाको सहछायांकन छ। भिडियो रातो टालो प्रोडक्सन र स्टुडियो लोइथोको ब्यानरमा बनेको हो।
