एक्लै पहाड फोडेर गाउँमा बाटो पुर्‍याउने  चन्द्रवीर

१५ माघ २०७६, बुधबार ११:३०

तुलसीपुर, उमेर ७५ वर्ष पुगे पनि जोस भने १७, १८ वर्षे तन्नेरीको जस्तै छ । उनको नाम चन्द्रवीर भएजस्तै काम पनि वीरले गर्नेजस्तै गरेका छन् । तुलसीपुर–सल्यान सडकखण्डको राप्ती राजमार्गदेखि उत्तर–पूर्वतर्फ अवस्थित खमारी गाउँका चन्द्रवीर वलीको सपना थियो–तीन किलोमिटर टाढा रहेको साततले पहाड फोडेर गाउँसम्म सडक पुर्‍याउने ।

चार वर्षदेखिको उनको सपना एक्लै पूरा गरेका छन् । तुलसीपुर उपमहानगरपालिका–३ खमारीका वलीले एक्लैले खनेर गाउँसम्म सडक पुर्‍याएका हुन् । गाउँको नजिकै राजमार्ग छ तर गाउँसम्म पुग्ने गोरेटोबाटो समेत थिएन । हिँड्दा भीरबाट लडेर धेरैका हातखुट्टा भाँचिएका छन् । स्वयम् उनको परिवारका १३ जना सदस्यमध्ये नौजना दृष्टिविहीन छन् ।

वलीले २०७१ सालदेखि घरसम्म पुग्ने बाटो पुर्‍याउने सपना देखे । गाउँघरका कतिपय बुज्रुक व्यक्तिले समेत हुनै नसक्ने काम गर्न थाल्यो भन्दै खिसिट्युरी गर्न थाले । तर उनी एक्लैले आँट गरेर बाटो खन्न थाले । बिहान ४ बजे उठेर बाटो खन्न जान्थे र आँखा देखुन्जेल खन्थे ।

राजमार्गदेखि सडक गाउँसम्म त पुग्यो नै तर वलीलाई त्यो सडक घरसम्मै पुर्‍याउनु थियो । वली भन्छन्, “बिरामी पर्दा खटियामा बोकेर बिरामीलाई गाडी चढ्ने ठाउँसम्म पुर्‍याउने बाटो पनि थिएन । तर गत वर्ष मेरै घरकी बुहारी बिरामी पर्दा घरसम्मै एम्बुलेन्स आयो ।”

अहिले गाउँमा जोकोही बिरामी पर्दा एम्बुलेन्स गाउँमै पुग्छ, दिनहुँ अटो, मोटरसाइकल गुड्ने गर्छन् । यस्तो देख्दा आफूलाई निकै खुसी लाग्ने गरेको उनको भनाइ छ । वलीको दैनिकी २०७१ सालदेखि उस्तै छ । बिहान ४ बजे उठ्छन् । बाटोमा पहिरो खसेको भए पन्छाउँछन् ।

परिवारका दृष्टिविहीन सदस्यका लागि खाना पकाउनेदेखि घरका हरेक काम एक्लैले गर्नुपर्ने समस्याबीच पनि उनले कहिल्यै हार खाएनन् । वली भन्छन्, “दुई वर्षअघि नगरप्रमुख घनश्याम पाण्डे आउनुभएको थियो ? हामीले के गर्नुपर्छ भन्नुहोस्, भन्नुभयो । मैले यो बाटो फराकिलो बनाइदिनुहोस्, बाटोमा ह्युमपाइप दिनुहोस् भनेको थिएँ ।”

उनको मागअनुसार नै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सडक फराकिलो बनाउनका लागि वडा कार्यालयमार्फत प्रक्रिया अघि बढाइएको बताए । उनको अर्को पनि सपना छ, पर्यटकीय स्थल चमेरे गुफासम्म पुग्न खन्न थालिएको पैदल मार्ग पूरा गर्ने । वलीले एक वर्षदेखि घर नजिकैबाट चमेरे गुफासम्म पुग्ने पैदल बाटो निरन्तर खन्दैछन् ।

स्वास्थ्यले साथ दिएसम्म बाटो आफै खनेर सक्ने उनले बताए । वृद्धावस्थाका चन्द्रवीरको परिवार १३ जनाको छ । तर आम्दानीको स्रोत भने वृद्धभत्ता र अपाङ्गता भत्ताबाहेक केही छैन । (आजको गोरखापत्र दैनिकबाट)