मुक्त हलियालाई आवास गृह

५ माघ २०७६, आईतवार ०९:४७

कञ्चनपुर, सरकारले कञ्चनपुर भीमदत्त नगरपालिकाको वडा नम्बर १९ बागफाँटामा एकीकृत हलिया बस्ती निर्माण गरी हस्तान्तरण गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले शनिबार उक्त बस्ती हस्तान्तरण गरेकी हुन् ।

हलिया बस्तीका ज्येष्ठ सदस्य धनिराम लुहारको नवनिर्मित घरमा ताला खोलेर मन्त्री अर्यालले गृह प्रवेश गराइन् । बाजागाजासहित उल्लासमय वातावरणका साथ आयोजित कार्यक्रममा बस्ती हस्तान्तरण गरिएको थियो । सरकारले एकीकृत बस्ती निर्माण गरी औपचारिक रूपमा पहिलोपटक हस्तान्तरण गरेको हो ।

बस्ती हस्तान्तरण गर्दै मन्त्री अर्यालले कसैलाई पनि भूमिहीन र सुकुमबासी हुन नदिने अभियानमा सरकार अगाडि बढेको बताइन् । उनले भनिन्, ‘देशभरका भूमिहीन र सुकुमबासीको समस्या यही सरकारले समाधान गर्छ ।’ हलियाको तथ्यांक संकलनका क्रममा केही हलिया छुट हुन गएको गुनासो आएपछि सरकारले त्यसलाई पुनः पहिचान गरेको र अझै पनि छुट्न गएकालाई सम्बोधन गरिने उनले स्पष्ट पारिन् ।

राज्यले दिने जग्गामा महिला र पुरुष दुवैको संयुक्त स्वामित्व स्थापित हुने गरी दिने भन्दै उनले सुकुमबासी, हलिया सबैलाई संयुक्त लालपुर्जा दिइने बताइन् । सरकारले २०६५ साल भदौ २१ गते हलिया मुक्तिको घोषणा गरे पनि लामो समयसम्म पुनःस्थापना भने हुन सकेको थिएन । साविक सुदूरपश्चिम क्षेत्रका नौ र मध्यपश्चिमका तीन गरी १२ जिल्लाका १८ हजार ९५३ हलिया परिवार रहेका थिए ।

सरकारले गत वर्ष कञ्चनपुरमा मात्र एक हजार ७८५ हलिाया परिवारको पुनःस्थापना गरेको थियो । पुनःस्थापना हुन बाँकी हलियालाई पुनःस्थापनाका लागि स्थानीय तहमा बजेट पठाइको थियो । सरकारले बागफाँटा बस्तीमा मुक्त हलिया पुनःस्थापनाका लागि ३२ वटा घरको बस्ती निर्माण गरिएको छ ।

तीन कोठाको घरमा एउटा भान्सा र दुईवटा कोठा निर्माण गरिएको छ । प्रत्येक घरमा एउटा शौचालय बनाइएको छ । २० फुटको बाटो वरिपरि नालासहित बस्ती निर्माण गरिएको छ । बाटोको दुवैतर्फ घर निर्माण गरिएको छ । प्रतिघर तीन लाख रुपियाँ लागत लागेको छ । जसमा नेपाल सरकारको दुई लाख २५ हजार र बाँकी रकम तथा प्राविधिक सहयोग ह्याबिटेट फर ह्युमानिटी नामक गैरसरकारी संस्थाले सहयोग गरेको छ ।

यसैगरी भीमदत्त नगरपालिकाले नाला निर्माण र खानेपानी लगायतमा सहयोग गरेको छ । बस्तीका प्रत्येक घर १० धुर जग्गामा निर्माण गरिएको छ । जग्गासहित प्रतिघर जम्मा चार लाख २५ हजार रुपियाँ लगानी लागेको छ ।

कञ्चनपुर जिल्लामा मात्र दुई हजार सात सय परिवार मुक्त हलिया रहेकोमा सूची संशोधन हुँदा दुई हजार पाँच सय पहिचान भएको थियो । जसमध्ये एक हजार ७८५ को गत वर्ष पुनःस्थापना गरिएको थियो । जम्मा १०६ परिवारलाई घर हस्तान्तरण गरिएको छ ।(आजको गोरखापत्र दैनिकबाट)