शिक्षकलाई सम्बोधन गरी शिक्षा ऐन ल्याउन हिस्टुनको माग

१ माघ २०७६, बुधबार १६:५१

काठमाडौं, शिक्षा ऐन साविकको उमाविमा अध्यापनरत शिक्षकलाई सम्बोधन गर्ने गरी ल्याउन माध्यामिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन ले माग गरेको छ। बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै हिस्टुनले साविकको उमाविका शिक्षक र शिक्षाको भविष्य एेनमाथि नै निर्भर रहेकाले त शिक्षकलाई सम्बोधन गर्ने गरी ल्याउन माग गरेको हो।

उमावि तहको स्वीकृत दरबन्दीको शिक्षक पदलाई ऐन लागू नहुँदासम्म मावि द्वितीय श्रेणीमा एक पटकका लागि उमेर हद नलाग्ने गरी शिक्षक सेवा आयोगले विशेष आन्तरिक प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्नुपर्ने माग हिस्टुनले गरेको छ। त्यसैगरी उमावि शिक्षकहरुको स्थायी पदका लागि खुलाइएको विज्ञापनमा दर्खास्त नदिएका वा दिएर पनि आयोगले नियुक्तीका लागि सिफारिस नगरेका शिक्षकलाई स्थायी पदपूर्ति नभएसम्मका लागि तोकिए बमोजिमको सुविधा दिनुपर्ने माग पनि युनियनले राखेको हिस्टुनका अध्यक्ष दीपकराज सुवेदीले बताउनु भयो । हिस्टुनले महाश्रम शर्माको अध्यक्षतामा गठित दरबन्दी पुनर्वितरण सुझाव कार्यदलको प्रतिवेदनअनुसार साविक उमावि तहमा ७ हजार ८०५ थप दरबन्दी सिर्जना गरी ज्येष्ठताका आधारमा शिक्षकलाई पदस्थापनाका साथै विशेष सुविधासहित स्थायी प्रक्रियामा लानुपर्ने माग पनि गरेको छ।

उमावि तहका शिक्षकहरुको मर्यादाक्रम मावि स्थायी तृतीय श्रेणीभन्दा माथि कायम हुने गरी कानुनी व्यवस्था गर्ने र प्राविधिक विद्यालयमा कार्यरत शिक्षकलाई समेत आवश्यक दरबन्दी सिर्जना गरी स्थायी गरिनुपर्ने माग हिस्टुनको छ। त्यसैगरी, संस्थागत साविकको उमावि तहमा कार्यरत शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरी पेशागत सुनिश्चितताको ग्यारेण्टी गर्नुका साथै शिक्षकहरुको सेवा, सर्त र सुविधा सम्बन्धी तयार भएको निर्देशिका तुरुन्त कार्यान्वयन गर्नुपर्ने माग पनि हिस्टुनले राखेको अध्यक्ष सुवेदीले बताउनु भयो ।