
काठमाडौँ। ओमकार समुदायले माघे संक्रान्ति वा मकर संक्रान्ति माघ १ गते मनाउने गर्छन् । ज्योतिषीय गणनाअनुसार मकर संक्रान्तिमा अग्नि तत्त्वको शुरुवात हुने गर्दछ भने कर्क सक्रान्तिबाट जल तत्त्वको शुरुवात हुने गर्दछ। यस समयमा गरिएको जप, ध्यान तथा दानले मनुष्यलाई अत्याधिक लाभ हुने गर्दछ। विशेषगरी, यो चाड सूर्य भगवानलाई समर्पित गर्ने गरिन्छ। यसदिन सूर्यले दक्षिण दिशाको आफ्नो यात्रा समाप्त गरी उत्तर दिशा तर्फ लाग्न थाल्दछ, जसलाई उत्तरायण भन्ने गरिन्छ। देवी देवताका लागि उत्तरायण भनेको दिनको समय हो र दिनको समयलाई सत्य, सद्गुण र धर्मको प्रतीकको रूपमा मानिन्छ भने रातलाई पाप र झुटो कालको रुपमा मानिने गरिन्छ। त्यसैगरी, उत्तरायण अर्थात् देवी देवताहरुको लागि दिनको समयमा गरिएको कामले सद्गुण बोकेर आउने गर्दछ। हिन्दु अनुयायीहरुले यस चाडको बेला पवित्र नदि वा तलाउमा गई स्नान गर्ने गर्दछन्। यसदिन सबै परिवार भेला भई तिल लड्डु, सख्खर, घ्यू, तरुलको मिठो परिकार बनाई खाने गर्दछन्।
जानिराखौं तिलबाट बनाइएका परिकार खानुको फाइदा
१) रक्तचाप तथा सुगर रोगीका लागि फाइदाजनकः तिलमा पाइने फाइबर र म्याग्नेसियम तत्वले इन्सुलिन र ग्लूकोज लेवल नियन्त्रण गर्न मद्दत गर्दछ, जसले रगतमा भएको सुगर लेवललाई बिग्रिन नदिई सुगर रोग लाग्ने खतराबाट बचाउने गर्दछ। त्यसैगरी, तिलले उच्च रक्तचापलाई पनि नियन्त्रणमा राख्दछ। अध्ययनकाअनुसार उचित मात्रामा तिललाई आफ्नो दैनिक खानामा समावेश गर्ने हो भने यसले उच्च रक्तचाप हुनबाट जोगाउँदछ।
२) दाँत र गिजाको लागि फाइदाजनकः तिलको सेवनले गिजालाई बलियो बनाउनुका साथै मुखमा प्लेग जम्ने समस्या निर्मुल गर्दछ। त्यसैगरी तिलको सेवनले मुखबाट आउने दुर्गन्ध, गिजाबाट रगत आउने समस्या र दाँतलाई स्वस्थ राख्न मद्दत गर्दछ।
३) पाचन प्रणालीको सुधारः तिलको सेवनले शरीरको पाचन प्रणालीको सुधार हुनुका साथै कब्जियत हुने समस्यालाई पनि निर्मुल गर्दछ।
४) छालाको लागि उपयोगीः तिल केवल स्वास्थलाई मात्र नभएर छालालाई सुन्दर राख्न पनि मद्दत गर्दछ। तिलमा पाइने ऐन्टीब्याक्टेरियल र एन्टीअक्सिडेन्ट तत्वले डण्डीफोर तथा डार्क सर्कल हुनबाट जोगाउँदछ । त्यसैगरी, दैनिक रुपमा तिलको तेल अनुहारमा लगाउँदा छालामा हुने चाउरीपन पनि कम हुने गर्दछ।
५) कपालको लागि फाइदाजनकः नियमितरुपमा तिलको तेल कपालमा लगाउने हो भने यसले कपाललाई जरैबाट बलियो बनाउनुका साथै कपाललाई चम्किलो बनाउनेगर्दछ। त्यसैगरी, तिलको तेलको प्रयोगले कपाल झर्ने समस्या तथा चायाँ हुने समस्या पनि निर्मुल गर्दछ।
नियमितरुपमा उचित मात्रामा तिलको सेवनले मानिसको स्वास्थलाई धेरै फाइदाजनक हुने गर्दछ, तर अत्याधिक मात्रमा यसको सेवनले मानिसको स्वास्थमा नकारात्मक असर पनि गर्दछ । तिलले कसैलाई एलर्जी समेत हुने गर्दछ भने यसको अत्याधिक सेवनले मानिसको रक्तचापमा गडबडी हुन सक्छ।(क्यानेडा नेपालबाट)
