चिसोबाट बच्न यस्तो खानुहोस्

२६ पुष २०७६, शनिबार १५:३१

चिसोबाट बच्नका लागि शरीरलाई प्रोटिन तथा विभिन्न खालका भिटामिनहरूको आवश्यक पर्छ। केही त्यस्ता खानेकुरा र फलफूल छन्, जसलाई नियमित खाने गर्नाले चिसोबाट बच्न सकिन्छ।

फलफूलमा भिटामिन, मिनरल्स, एन्टिअक्सिडेन्ट हुने भएकाले चिसो मौसममा केही फलफूलले चिसोबाट बच्न सहयोग गर्छन्। सुन्तला, अमला तथा अनार सुन्तला, अमला तथा अनार जस्ता फलफूलमा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ,यी फलफूलले रगत सफा गर्नुका साथै टन्सिल जस्ता समस्याबाट जोगाउँछन्।

दूध तथा अण्डा अण्डा तथा दूध र दूधजन्य प्रदार्थमा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ। यसले गर्दा चिसो मौसममा शरीरलाई चिसोबाट बच्न सहयोग गर्छ। यस्तै, दूध तथा अण्डामा प्रचुर मात्रामा क्याल्सियम हुने हुँदा हड्डी बलियो बनाउन सहयोग गर्छ। प्रोटिनले शरीरमा तापक्रम बढाउनुका साथै छाला फुस्रो हुनबाट पनि जोगाउँछ।

बिहान उठेर अण्डा वा दूध खानु राम्रो मानिन्छ तर अण्डा र दूध एकै पटक खानु शरीरका लागि घातक हुन्छ। यस्तै गाँजरमा भिटामिनका साथै शरीरमा रोगसँग लड्न सक्ने एन्टिअक्सिडेन्ट तत्त्व हुन्छ। यसको सेवनले छालालाई फुस्रो हुन तथा चाउरिनबाट जोगाउँछ। भिटामिनले चिसोबाट लाग्न सक्ने रुघा, खोकी, टन्सिल जस्ता संक्रमण हुनबाट जोगाउँछ।

यसैगरी खानामा सागको मात्रा प्रशस्त हुनु जरुरी छ। यसमा पाइने भिटामिनले सुख्खा छाला तथा आँखालाई राम्रो राख्न सघाउ पुग्छ। शरीरमा विभिन्न खालका भिटामिन तथा आइरनहरूको परिपूर्ति हुने हुँदा यस्ता सागसब्जीले छालालाई खस्रो हुनबाट जोगाउँछ।

यस्तै केही त्यस्ता मसलाहरू छन्, जो नियमित रूपमा खानु जाडो मौसममा शरीरका लागि फाइदाजनक हुन्छ। जाडोमा अदुवा, दालचिनी, मरिच, टिम्मुर, मेथी, तिल खानु राम्रो हुन्छ। मेथीमा पोटासियम र आइरन हुन्छ, जसले मुटुरोगीलाई फाइदा पुर्याउँछ।

अदुवामा जिन्जेरोल्स तत्त्व हुने भएकाले यसले शरीरमा रोगसँग लड्ने क्षमताको विकास गराउँछ। चिसो मौसममा नियमित रूपमा बदाम खानु पनि राम्रो हुन्छ। बदाममा प्रशस्त मात्रामा चिल्लो, प्रोटिन तथा विविध प्रकारका भिटामिन पाइन्छ। – एजेन्सी