‘कोपिला’को हेटौँडामा विशेष च्यारेटी शो हुने

२५ पुष २०७६, शुक्रबार १७:१८

हेटौँडा, चलचित्र ‘कोपिला’ को विशेष च्यारेटी शो मकवानपुर जागरण अभियान नेपालले आयोजना गर्ने भएको छ। मकवानपुर जागरण अभियान नेपालका अध्यक्ष कृष्णराज कोइरालाका अनुसार माघ १० गते हेटौँडाको एनएस सिनेमा हलमा विशेष कार्यक्रमका साथ च्यारेटी शो आयोजना गरिने छ ।

शुक्रबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कोइरालाले च्यारेटीमार्फत उठेको रकमबाट स्व निर्मला पन्तको परिवारलाई ५० हजार सहयोग गरिने समेत बताए। च्यारेटी शो का दिन निर्मलाको परिवारलाई हेटौँडा बोलाएर रकम हस्तान्तरण गर्नेसमेत उनले बताए। यसअघि गत वर्ष पंचायत चलचित्र च्यारेटी गरेर सामाजिक कार्य गरिएको बताउँदै उनले यो वर्ष पनि उठेको रकमबाट निर्मला पन्तको परिवारसँगै अन्य सामाजिक क्षेत्रमा सहयोग गर्ने समेत बताए। च्यारेटी शो कार्यक्रममा चलचित्रका कलाकारको समेत उपस्थिति रहने बताइएको छ।

पत्रकार सम्मेलनमा चलचित्रका निर्माता मणिराज गौतमले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा चलचित्र ‘कोपिला’ बनेको बताए। चलचित्रलाई पहिलो पटक च्यारेटीमार्फत दर्शकमा देखाउन लागिएको समेत गौतमले बताए। चलचित्रले सामाजिक कथा बोकेको भन्दै स्व निर्मला पन्तको परिवारसँग अनुमती लिएर चलचित्र बनाएको निर्माता गौतमले बताए ।

चलचित्रलाई नेपाल सरकारले सेन्सरसमेत पास गरिसकेको छ। निर्मलालाई ‘कोपिला’ को पात्रमा राखिएको यो चलचित्रमा ‘कोपिला’ को भूमिकामा संजिबनी खरेलले अभिनय गरेकी छिन। चलचित्रमा संजिबनीसँगै गणेश गिरि, सरिता गिरि, ऋद्धिचरण श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, शिया आचार्य, जुनिपर पौडेललगायतका कलाकारहरुको अभिनय रहेको छ। गणेश गिरिको प्रस्तुती रहेको चलचित्रको कार्यकारी निर्मातामा सुवासराज काफ्ले, सम्पादक तथा एनिमिटर समिर मियाँ र छायाकार रामेश्वर कार्की रहेका छन्। दीपक शर्माको संगीत रहेको चलचित्रलाई शिवम् अधिकारीले निर्देशन गरेका छन। यसअघि अधिकारीले पंचायत चलचित्र निर्देशन गरेका थिए।