ट्याक्टरको ठक्करबाट रौतहटमा ३ जनाको मृत्यु

२५ पुष २०७६, शुक्रबार १२:०५

रौतहट , रौतहटमा ट्याक्टरको ठक्करबाट एकैदिन छुट्टाछुट्टै स्थानमा तीनजनाको मृत्यु भएको छ ।

गौर चन्द्रपुर सडकखण्डको शुकदेव चोक नजिकै ना५त ९२६७ नम्बरको ट्याक्टरले ना४८प ५७६ नम्बरको मोटरसाइकललाई बिहिवार साँझ ठक्कर दिँदा मोटरसाइकल पछाडी बसेका माधव नारायण नपा–६ माधोपुरका ४५ वर्षीय रामअधार ठाकुरको मृत्यु भएको हो ।

ठक्करबाट गम्भिर घाइते मोटरसाइकल चालक सोही ठाँउका २२ वर्षीय सुशील ठाकुरको वीरगञ्जस्थित तराई अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी ज्ञानकुमार महतोले जानकारी दिनु भयो ।

ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी गएराती नै बृन्दावन नपा–७ धमौरास्थित गौर चपुर सडकखण्डमा आलु लोडगरी हर्षाहातर्फ गइरहेको ना७च ६१६९ नम्बरको ट्याक्टरले पैदलयात्रु देवाही गोनाही नपा–४ की ३५ वर्षीया मिरादेवीलाई ठक्कर दिँदा उपचारको क्रममा मिरादेवीको वीरगञ्जस्थित मृत्यु भएको डीएसपी महतोले बताउनु भयो ।

ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै कटहरिया नपा–९ डुमरियास्थित बाबा बैजुनाथ सुगर एण्ड केमिकल इन्डस्ट्रिजमा उखु लिएर गएको ना१त ४१४० नम्बरको ट्याक्टरले गएराती ठक्कर दिँदा एकजना पुरुषको मृत्यु भएको छ ।

मृतकको पहिचान खुल्न सकेको छैन् । ट्याक्टर चालक भने फरार रहेको र घटनाबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ ।