
काठमाडौं , सरकारले विद्युत खपत बढाउने आकर्षक योजना अघि सारेको छ । शहरी उपभोक्तालाई लक्षित गरेर ग्यासमा दिदै आएको अनुदान विद्युतीय चुलोमा दिने तथा ग्रामिण गरिव नागरिकका लागि १० युनिट सम्म विजुली सित्तैमा बाल्न दिने योजना ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बताउनु भयो ।
विद्युत उत्पादन दिनप्रतिदिन बढिरहेको तर खपद तुलनात्मक रुपमा नबढेको सन्दर्भमा बिजुलीको आन्तरिक खपत बढाउन पनि सरकारले विद्युतीय चुलो प्रवद्र्धन गर्ने नीति लिएको हो ।
सुरुवातमा १० हजार चुलो अनुदानमा दिने र बिस्तारै बढाउँदै जाने मन्त्री पुनले पत्रकारहरुलाई बताउनु भयो ।
पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै उर्जामन्त्री बर्षमान पुन ।
‘आगामी बजेटबाट अनुदान दिने तयारी छ। यस्तो चुलोमा ३ हजारदेखि ३५ सय रुपैयाँसम्म छुट दिने गरी तयारी भएको छ। विद्युतीय चुलो बनाउने कम्पनी खोल्न विद्युत् प्राधिकरणका कर्मचारीले रुची देखाएका छन्। कर्मचारीले प्राधिकरणको बोर्ड बैंठकमा यसको प्रस्ताव गएको बताए। अब यो कम्पनीको निर्णय प्राधिकरणले गर्नेछ’ उहाँले भन्नु भयो ।
मन्त्री पुनका अनुसार अहिले मासिक २० युनिटसम्मका ग्राहक २० लाख घर धुरी छन्। यसलाई अब १० युनिटसम्म खपत गर्नेलाई निःशुल्क गर्ने र सो भन्दा बढीकालाई मात्रै शुल्क लिने विषयमा पनि गृहकार्य भइरहेको मन्त्री पुनको भनाइ छ। १० युनिटसम्मका ग्राहक करिब ७ लाख छन्।
‘हामीले एउटा परिवारले इन्डक्सन चुल्हो, रेफ्रिजरेटर लगायतका घरेलु सामान चलाउँदा खपत हुने १ सय देखि १सय १५ युनिटसम्मको विद्युतको महसुल घटाउने तयारी गरेका छौँ’, उहाँले भन्नु भयो, ‘मुल्य घटेपटि विद्युतको बजार बढ्ने छ।‘
उहाँले नयाँ योजना आगामी बजेटबाट लागू गर्ने तयारी भैरहेको उल्लेख गर्नु भयो । १० युनिट भन्दा कम विद्युत खपत गर्ने परिवारहरु गरिबिको रेखामुनी भएकाले उनीहरुले मासिक न्यूनतम ३० रुपैँया तिरे पुग्ने व्यवस्था गर्न लागिएको उहाँले बताउनु भयो ।
