चिसोले जनजीवन कष्टकर

२० पुष २०७६, आईतवार १३:०९

काठमाडौं , तीन दिनयता पटक–पटक भएको हिमपातका कारण चिसो बढेर हिमालीसहित उच्चपहाडी भूभागको जनजीवन प्रभावित भएको छ। हिमपातका कारण ती क्षेत्रमा यातायात सेवा र विद्यालयमा पठनपाठन अवरुद्ध भएको छ। अत्यावश्यक कामबाहेक मानिस घरबाहिर निस्किएका छैनन्। हिमपातसँगैको वर्षाले एकातिर जनजीवन प्रभावित भएको छ भने अर्कोतिर किसान खेतीपाती सप्रिने भन्दै दंग छन्। केही रउसे हिउँ खेल्न, हिउँसँग सेल्फी हान्न तराईदेखि पहाड उक्लेका छन्। हिमाली तथा उच्चपहाडी क्षेत्रमा बिहीबारदेखि हिउँ पर्न सुरु भएको हो।

ओखलढुंगा संवाददाता शेरबहादुर जेरोका अनुसार हिमपातका कारण सोलुखुम्बु–ओखलढुंगा–काठमाडौं चल्ने यातायात अवरुद्ध भएको छ। शुक्रबार साँझबाट परेको हिमपातले यातायात अवरुद्ध भएको हो। सोलुखुम्बुबाट ओखलढुंगा हुँदै काठमाडौं जाने कुनै पनि सवारी चल्न नसकेको सिद्धिचरण नगरपालिका–६ ठाडेका मेखबहादुर मगरले जानकारी दिए।

सोलुखुम्बुको पत्ताले, ओखलढुंगाको धाप, ठाडे, टोड्के, देउरालीसम्म सडकमा बाक्लो हिउँ जमेको मगरको भनाइ छ। सडकमा जमेको हिउँ पन्छाई सडक पुनः सञ्चालन गर्न एस्काभेटर पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। सोलुखुम्बुबाट काठमाडौंका लागि छुटेका सवारीसाधन बेलीडाँडा र ओखलढुंगाबाट सोलुखुम्बुका लागि बिहान छुटेका सवारीसाधन बिब्ल्याँटे र चित्रेमा रोकिएका छन्।

सडकमा जमेको हिउँ चाँडै पन्छाई सडक सञ्चालन गर्नेगरी काम भइरहेको प्रहरीले जनाएको छ। शुक्रबार साँझदेखि आधा रातसम्म वर्षासँगै हिमपात भयो। खिजिदेम्बा गाउँपालिकाको पत्ताले, रावादोलु, भुसिंगा, खिजिफँलाटे बजार चल्ले सवारीसाधनसमेत हिमपातका कारण अवरुद्ध भएको खिजिदेम्बाका कमलप्रसाद न्यौपानेले बताए।

हिमपातसँगैको वर्षाले एकातिर जनजीवन प्रभावित भएको छ भने अर्कोतिर किसान खेतीपाती सप्रिने भन्दै दंग छन्।
मौसममा आएको परिवर्तनसँगै ओखलढुंगाका अधिकांश उच्चभूभागमा हिमपात भएको छ। हिमपातले यहाँको जनजीवन प्रभावित बनेको छ। वर्षासँगै जिल्लाको जन्तरखानी, पात्ले, खिजिदेम्बा, लामजुरा, धाप, देम्बाडाँडा, श्रीचौरको माथिल्लो क्षेत्र र सोलुखुम्बुको पत्ताले, पिके क्षेत्रमा भीषण हिमपात भएको हो।

हिमपातसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित बनेको छ। जन्तरखानीको ठाडे, धापलगायत उच्चभेगमा बाक्लो हिमपात भएको ग्रेस एकेडेमीका अध्यक्ष हरि मगरले बताए। मगरका अनुसार हिमपातले चिसो बढेसँगै विशेषगरी विद्यार्थी, बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन्। बस्तुभाउ स्याहारमा समेत समस्या भएको उनको भनाइ छ।

गोठमा गाईभैंसी र भेडापाठा चराउन पुगेका स्थानीय कृषकलाई समेत सामान पु¥याउन झनै समस्या भएको मगरले बताए। समयमै वर्षासँगै हिमपात भएकाले बाली सप्रने भन्दै किसानहरु भने हर्षित भएका छन्। सडक सुविधा पुगेको हिमपात भएको क्षेत्रमा बिहानैदेखि हिउँ खेल्न जानेहरू बढेका छन्। शनिबार बिदाका दिन भएकाले पनि हिउँमा रमाउन जानेहरूको संख्या धेरै रहेको थियो।

रामेछाप संवाददाता मञ्जु उप्रेतीका अनुसार रामेछाप र दोलखाको धार्मिक तथा पर्यटकीयस्थल शैलुङ डाँडा र वरपरको क्षेत्र सेताम्य भएको छ। बिहीबारदेखि परेको वर्षासँगै रामेछापको उच्चपहाडी क्षेत्रमा हिमपात सुरु भएको हो। हिमपातका कारण शैलुङसँगै ठोसे, चुचुरे, ढुंग्रे, मेलुङ क्षेत्रको जनजीवन कष्टकर बनेको छ। विशेषगरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित भएका छन्। लगातार दुई पटक हिउँ परेकाले ये क्षेत्रका बासिन्दा घरबाहिर निस्किन सकेको छैनन्। बाक्लो हिमपातले गाईबस्तुलाई समेत प्रभावित पारेको छ।

सबैजना घरभित्रै आगो तापेर बसेको शैलुङ गाउँपालिकाको अध्यक्ष भरत दुलालले बताए। ‘बाहिर निस्केर केही काम गर्न सकिएको छैन,’ उनले भने, ‘हिउँले धाराको पानी जमेकोले पानीको समस्यासमेत भएको छ।’ पानी जमेपछि भाडोमा हिउँ तताएर प्रयोग गर्नुपरेको उनको भनाइ छ।

शैलुङ डाँडा पूरै हिउँले ढाकिएको छ भने तापक्रम माइनसमा झरेको छ। शैलुङका थुम्काहरू हिउँले ढाकिएपछि हिउँ खेल्न चाहने रउसेको घुइँचो लगेको छ। यतिबेला शैलुङ डाँडा वरपर हिउँका विभिन्न आकृति बनाएर रमाउने, हिउँमा बसेर सेल्फी खिच्ने, हिउँको डल्लोले एक–अर्कालाई हिर्काएर युवकयुवतीहरू रमाउने गरेको दृश्य बग्रेल्ती देख्न सकिने स्थानीय दावा शेर्पाले बताए। यो समाचार नागरिक दैनिकमा छापिएको छ ।