
सुर्खेत,कर्णालीका हिमाली र उच्च पहाडी क्षेत्रमा भारी हिमपातभएको छ। बिहीबार अपरान्हदेखि कर्णालीको प्रदेश राजधानी सुर्खेतका उच्च पहाडी क्षेत्र, दैलेख, जुम्ला, कालीकोट, हुम्ला, मुगु, जाजरकोट, डोल्पा, रुकुमपश्चिम र सल्यानमा लगातार हिमपात भइरहेको छ। जिल्लाका पहाडी क्षेत्रमा भने वर्षा भएको थियो।
जंगलबीचको सानो झुपडीमा १४ वर्षीय पीपल शाही परिवारसहित सुते। बिहानउठ्दा सबै उठे तर पीपल उठेनन्। कारण, ‘चिसोले उनको मृत्यु भइसकेको थियो।’ उनी मात्र होइन चिसोकै कारण पुस ९ गते राति हर्कबहादुर शाहीको चार महिने छोरा जंगबहादुरले पनि ज्यान गुमाए ।
पछिल्लो समय अत्यधिक चिसो बढेपछि जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायका दुई बालकको मृत्यु भएको छ। दुई बालकको मृत्यु भएपछि राउटे बस्ती शोकमा डुबेको छ। दर्जनौं राउटे बिरामी भएका छन् ।
‘साँझ सामान्यअवस्थामा सँगै सुतेका थिए,’ राउटे बस्तीका छिमेकी भरतबहादुर शाहीले भने, ‘बिहान मृत्यु भए छ।’ चिसोमा न्यानो कपडा र पोषिलो खाने कुरा नहुँदा उनीहरू चिसोबाट ज्यान समेत गुमाउन बाध्य छन्। राउटे बालबालिकामा पोषण समस्या हुँदा पनि चिसोमा उनीहरूलाई झनै ठूलो समस्या हुने सामाजिक सेवा केन्द्रका संस्थापकअध्यक्ष हिरासिंह थापाले जनाए। ‘उनीहरूमा पहिला कुपोषण हुन्छ,’ उनले भने, ‘त्यसैले उनीहरू चिसो पचाउन सक्दैनन् ।’
सरकारले उनीहरूका लागि सुरक्षित बासको व्यवस्था गरिदिनु पर्ने राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालकी केन्द्रीय अध्यक्ष सत्यादेवी खड्काले जनाइन्। राउटे बस्तीमा अहिले रुघाखोकी, ज्वरोको प्रकोप देखिएको छ। उनीहरू अस्थायी टहरा बनाएर बस्ने गर्छन्। ‘उनीहरूको अस्थायी टहराले चिसो छल्दैन,’उनले भनिन्, ‘राउटे समुदायले लगाउने पोषाक पनि चिसो छल्ने खालका छैनन्।’ केही दिन अगाडि आफूले न्यानो कपडा र पोषण खानेकुरा सहयोग गरेको भन्दै उनले राउटे समुदायलाई सुरक्षितवास हुनु पर्ने बताइन्।
अहिले यहाँबाट राउटे बस्ती सर्ने तयारी गरेको राउटे बस्तीका छिमेकी भरतबहादुर शाहीले बताए। २२ वर्षीय कपिल शाही चार वर्ष अगाडि आगोमा पोलिएका थिए। अत्यधिक चिसो भएपछि आगो ताप्दै गर्दा उनी जलेका थिए। ‘अत्यधिक चिसो हुँदा हामीलाई गाह्रो हुन्छ,’ आगो ताप्दा जलेका कपिलले भने, ‘न्यायो लगाउने, ओड्ने र ओछ्याउने नहुँदा समस्या छ।’ हाल यहाँ ४६ घरपरिवार राउटे बस्ती छ।
साथै बिहीबार कर्णालीका हिमाली जिल्लामा हिमपात भएको छ भन्ने अन्य क्षेत्रमा सामान्य वर्षा भएको छ। हिमपात र वर्षापछि यहाँ अत्यधिक चिसो छ। चिसोले यहाँको जनजीवन कष्टकर बनेको छ। (आजको नागरिक दैनिकबाट)
