काठमाडौं, देशभर आंशिक तथा मध्यम वर्षासँगै विभिन्न क्षेत्रमा हिमपात हुँदा चिसो बढ्ने क्रम जारी छ ।
आगामी तीन दिन मुख्यगरी पश्चिमी, मध्य तथा पूर्वी उच्च भूभागमा हिमपात र मध्य, पूर्वी तथा तराई भूभागमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसअघिको हिउँदे वर्षासँगैको हिमपातले बढ्दै गएको चिसो आउँदो एक हप्ता उच्च दरमा रहने अनुमान महाशाखाले गरेको छ । काठमाडौँ लगायतका स्थानमा भने अपराह्नदेखि मेघगर्जनसहित हल्का वर्षा भएको छ । बिहीबार काठमाडौँ उपत्यकामा हल्का पानी पर्ने र केही बेर घाम लाग्ने क्रम पनि जारी रह्यो ।
वर्षाले उपत्यकाको चिसो बढाउनुका साथै वरिपरिका पहाडमा हिमपात गराउने सम्भावना छ । हिमपातको विशेष असर भने प्रदेश ६ र ७ को उच्च हिमाली भेगमा बढी परेको छ ।
अधिकांश पहाडी भेगमा पानी पर्ने भएकाले वायुको सापेक्षित आद्रतामा चिस्यान बढ्दा जाडोले जनजीवन प्रभावित हुने देखिएको छ । यसअघिको वर्षाले न्यूनतम तापक्रम घट्ने क्रममा असर पु¥याएको थियो ।
जसका कारण काठमाडौँको न्यूनतम तापक्रम ०.६ डिग्री सेल्सियससम्म पुगेको थियो । (गोरखापत्र दैनिकबाट)