कविशिरोमणि पौड्यालको १३६ औँ जन्मजयन्तीमा साहित्यिक कार्यक्रम

१७ पुष २०७६, बिहीबार १८:११

काठमाडौं , कविशिरोमणि लेखनाथ पौड्यालको १३६ औँ जन्मजयन्ती साहित्यिक कार्यक्रम गरी मनाइएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजान गरेको प्रवचन कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाली साहित्यमा कवि लेखनाथले महत्वपूर्ण योगदान दिएको बताउनु भयो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका निमित्त कुलपति एवं कार्यक्रमका सभापति सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले कविशिरोमणि पौड्यालले लेखेका कविता नेपाली कविता साहित्यमा लालित्य र परिस्कृतिका दृष्टिले अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट रहेको दाबी गर्नु भयो । गरे ।

प्रतिष्ठानका संस्थापक सदस्यसमेत रहेका कविशिरोमणिमा प्राणीवादी दर्शन, आध्यात्मिक चिन्तन र सर्वोदय भावना रहेको सदस्य सचिव उपाध्यायले बताउनु भयो ।

कविशिरोमणिबारे विशेष प्रवचन दिँदै प्रतिष्ठानका पूर्वउपकुलपति प्राडा वासुदेव त्रिपाठीले कविशिरोमणि पौड्याल नेपाली काव्यसाहित्यलाई विश्वस्तरमा उठाउने कवि भएको दाबी गर्नु भयो ।

कार्यक्रममा वरिष्ठ पत्रकार तथा साहित्यकार भैरव रिसालले कविशिरोमणि पौड्याल निकै चलाख र चातुर्य व्यक्ति भएको आफूले बुझेको जिकिर गर्नु भयो । उनले आफूले पौड्यालसँग विभिन्न समयमा पत्रिकाका लागि अन्तर्वार्तासमेत लिने अवसर पाएको बताउनु भयो ।
उक्त अवसरमा कविशिरोमणिका काव्य सिर्जनासमेत वाचन गरिएको थियो । कवि लक्ष्मी गौतमले सत्य सन्देश, रञ्जना आत्रेयले चरीको विलाप, देवु लुइँटेलले वसन्त कोकिल, रुपक अलङ्कारले धनमहिमा र बुद्धि तिमल्सिनाले कालमहिमा वाचन गर्नु भएको थियो ।

१९४१ साल पुस १५ गते कास्कीको अर्घौंअर्चलेमा जन्मिनु भएका पौड्यालको निधन २०२२ साल फागुन ७ गते ८१ वर्षको उमेरमा चितवनको देवघाटमा भएको थियो । उहाँका ऋतुविचार (खण्डकाव्य), बुद्धिविनोद (कविताकृति), सत्यकलि संवाद (कविताकृति), सत्यस्मृति, मेरो राम, त्याग र उदयको सन्देश, गीताञ्जली (कविताकृति), तरुण तपसी (नव्यकाव्य), लक्ष्मीपूजा (नाटक), गौरीगौरव (नाटक), लालित्य (कविता कृति दुई भागसम्म)आदि प्रकाशित छन् ।