भ्रमण वर्ष उद्घाटनको दिन सबैले दिपावली गरौँः पर्यटनमन्त्री भट्टराई

१५ पुष २०७६, मंगलवार १५:१५

काठमाडौं, सन् २०२० लाई सरकारले भ्रमण वर्ष घोषणा गर्दै २० लाख नै पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। जसका लागि तयारी अन्तिम चरणमा पुगेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री योगेश कुमार भट्टराईले भ्रमण वर्ष उद्घाटनको दिन सबैले दिपावली गरि मनाउन आग्रह गर्नु भएको छ । मन्त्री भट्टराईले जनवरी १ अथार्त १६ पुसमा दिपावली गरेर भ्रमण वर्षको शुरूआत गर्न अनुरोध गर्नु भएको छ ।

मन्त्री भट्टराईले भ्रमण वर्षलाई राष्ट्रिय अभियान बनाउनुपर्ने भन्दै आर्थिक र राजनीतिक असमानताको अन्त्य गर्दै पर्यटन विकासको काम शुरू गरिएको बताउनु भयो ।

भ्रमण वर्षको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने, प्रधानमन्त्रीको बिषेश सम्बोधन रहने, प्रधानन्यायाधीश, मन्त्री, प्रदेश प्रमुखहरूको सहभागीता रहने साथै विभिन्न मुलुकका पर्यटनमन्त्रीहरुको पनि सहभागिता रहने उहाँले जानकारी दिनु भयो ।

भ्रमण वर्षको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय पर्यटकलाई नेपालमा भित्र्याउने, नेपाललाई पर्यकीय गन्तव्यको रूपमा विश्वस्तरमा चिनाउने, आन्तरिक र बाह्य दुवै पर्यटक प्रवद्र्धन गर्ने रहेको छ।