अर्को चुनावमा नेकपा एक्लैको दुईतिहाइ बहुमतः प्रचण्ड

१३ पुष २०७६, आईतवार १८:४०

काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भूमि एक इन्च पनि नछाड्ने बताउनु भएको छ । आइतबार चितवनको इच्छाकामना गाउँपालिकामा सपथ ग्रहण कार्यक्रममा पुगेका अध्यक्ष प्रचण्डले भारतले नेपाली भूमि मिच्दा आफूहरु हेरेर नबस्ने बताउनु भयो । नेपाली भूमि फिर्ता लिन नेपाल सरकारले कुटनीतिक पहल थालेर समाधानको बाटो खोजिरहेको बताउनु भयो ।

सीमा विवादको बिषय उठेको बेलामा कालापानीबाट भारतीय सेना हटाउने अवसर समेत प्राप्त भएको उहाँले बताउनु भयो । सरकार र पार्टीको कामबाट आगामी चुनावमा नेकपा एक्लैले दुईतिहाइको बहुमत ल्याउने दाबी उहाँले गर्नु भयो । ‘हालै भएको उपनिर्वाचनमा नतिजा राम्रो आए पनि केहि ठाउँमा नसोचेको हार व्यहोरेका छौँ’, उहाँले भन्नु भयो, ‘त्यस बिषयमा पार्टीको ध्यान केन्द्रित भएको छ। त्यो समस्या समाधान हुन्छ।’