एटीएम फुटाएर रकम चोरी गर्न लागेको अवस्थामा दुईजना पक्राउ

१३ पुष २०७६, आईतवार १८:२५

काठमाडौं , सिटिजन बैंकको एटीएम फुटाएर रकम चोरी गर्न लागेको अवस्थामा दुईजना पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका ७, थानकोटमा रहेको सिटिजन बैंकको एटीएम फुटाएर रकम चोरी गर्न लागेका हुन ।

पक्राउ पर्नेमा सोही नगरपालिका ५, दाउरा डिपो बस्ने मुगु सोरु गाउँपालिका ६ का २४ वर्षीय चित्रबहादुर शाही र २० वर्षीय नन्दराज धराल छन् ।

एटीएमभित्र राखेको नगद चोरी गर्ने उद्देश्यले सटरको ताल्चा र मेसिनसमेत फुटाएर क्षति पुर्‍याइसकेको अवस्थामा उनीहरूलाई महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूको साथबाट मेसिन फुटाउन प्रयोग गरेको ढुंगा, पिलास, फलामको रेन्च र चक्कु प्रहरीले बरामद गरेको छ ।