समाजवादीले सरकालाई दिएको समर्थन फिर्ता लियो

९ पुष २०७६, बुधबार १५:१५

काठमाडौं , सरकारबाट बाहिरिएको समाजवादी पार्टी नेपालले सरकालाई दिएको समर्थन फिर्ता लिएको छ। पार्टीको केन्द्रीय कार्यालयमा बुधबार बिहान बसेको बैठकपछि समर्थन फिर्ता लिएको घोषणा गरिएको हो। पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको हो।

समाजवादीले समर्थन फिर्ता लिएसँगै सरकारले दुई तिहाइ बहमतको हैसियत गुमाएको छ। प्रतिनिधिसभामा समाजवादी पार्टीका १७ जना छन्। दुईतिहाइ पुग्‍न एक सय ८४ जना सांसद आवश्यक पर्छ। नेकपासँग एक सय ७४ सांसद छन्।

समाजवादी पार्टी १९ महिनाअघि सरकारमा सहभागी भएको थियो।मंगलबार मात्र पार्टीबाट सरकारमा सहभागी उपप्रधानमन्त्री तथा कानुनमन्त्री उपेन्द्र यादव, शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले राजीनामा दिएका थिए।

यस्तो छ संसद्को अंकगणित

अहिले प्रतिनिधिसभामा कुल सदस्य २७५ छन्। यसमध्ये दुईतिहाई बहुमतका लागि १८३ मत आवश्यक पर्छ । समाजवादीले समर्थन गर्दाको अवस्थामा ओली सरकारको पक्षमा १९४ सांसद थिए। समाजवादीका १७ जनाले समर्थन फिर्ता लिएपछि सरकारको पक्षमा १७७ सांसद रहने छन्।