माथिल्लो कर्णालीको पीपीए फागुनमा

६ पुष २०७६, आईतवार ११:४९

काठमाडौं, ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको बिजुली बंगलादेशले किन्ने निर्णय गरेसँगै त्रिदेशीय विद्युत् व्यापारको लागि ढोका खुल्ने निश्चित भएको छ ।

लामो समयदेखि नेपालबाट भारत र बंगलादेशमा बिजुली बेच्ने चर्चा चले पनि बंगलादेशको सार्वजनिक खरिदसम्बन्धी क्याबिनेट कमिटीले माथिल्लो कर्णालीको बिजुली किन्न त्यहाँको ऊर्जा विकास बोर्डलाई सहमति दिएसँगै त्रिदेशीय विद्युत् व्यापारका लागि ढोका खुल्ने भएको हो ।

आगामी वर्षदेखि बिजुली खेर जाने भएकोले यसलाई कति मूल्यमा कहाँ र कसरी बेच्ने भन्ने चिन्ता भइरहेका नेपालको निजी क्षेत्र पनि उत्साहित बनेका छन् ।

माथिल्लो कर्णालीको बिजुली किन्ने बंगलादेशको सहमतिसँगै त्रिदेशीय विद्युत् व्यापारका लागि ढोका खुल्ने भएको छ,’ स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष कुमार पाण्डे भन्छन्, नेपाल विद्युत् प्राधिकरणको मागको प्रक्षेपणको आधारमा छिट्टै विद्रयुत उत्पादन मागभन्दा बढी देखिएकोले, कसरी बेच्ने भन्ने चिन्ता रहेकोमा यसले बाटो खुला गरेको छ । थप प्रक्रिया अगाडि बढाउन सहज भएको छ ।’

सहमतिसँगै भारतीय कम्पनी मल्लिकार्जुन राओ (जीएमआर) प्रवद्र्धक रहेको सो आयोजनाको बिजुली भारतको एनटीपीसी विद्युत् निगममार्फत बंगलादेशमा बिजुली व्यापार हुनेछ । २५ वर्षसम्म बंगलादेशले करिब ३८ हजार १ सय ९० करोड टाका अर्थात करिब ५ खर्ब बराबरको विद्युत् किन्नेछ ।आजको कारोबार दैनिकबाट