नेपाली संगीत क्षेत्रमा योगदान दिएका विभिन्न स्रष्टा सम्मानित

५ पुष २०७६, शनिबार १२:५४

काठमाडौं , नेपाली संगीत क्षेत्रमा योगदान दिएका विभिन्न स्रष्टालाई नातिकाजी स्मृति समाजले सम्मान एवम् पुरस्कृत गरेको छ । संगीत महर्षी नातिकाजी श्रेष्ठको ९५ औँ जन्मजयन्तीको अवसरमा उपराष्ट्रपति कार्यालयमा समाजले स्रष्टा सम्मान गरेको हो ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गर्नु भयो । समारोहमा नातिकाजी राष्ट्रिय विशिष्ट स्रष्टा सम्मानबाट डा समरबहादुर मल्ललाई २० हजार १ रुपैयाँ नगदसहित सम्मानित गरियो । नाजिकाजीका समकालीन स्रष्टा मल्लले नेपाली सुगम संगीतमा योगदान पु¥याएका छन् ।

यस्तै नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मानबाट ८ जना संगीतकर्मीलाई सम्मानित गरिएको छ । जसमा गायनबाट कर्म योञ्जन, जगतमर्दन थापा, भारती उपाध्याय, तीर्थकुमारी थापा, शम्भु राई, संगीत सिर्जनाबाट सिके रसाइली, मिलन मोक्तान, वाद्यबादनबाट मोहनकृष्ण ढलीलाई विशेष संगीत सम्मान गरियो ।

यस्तै नातिकाजी राष्ट्रिय संगीत पुरस्कारबाट ४ जनालाई पुरस्कृत गरियो । जनही ११ हजार १ एक सय ११ रुपैयाँ राशिसहितको नातिकाजी राष्ट्रिय संगीत पुरस्कार संगीतकार सुरेश अधिकारी, गायक यम बराल, प्रमोद ढुंगाना र गायिका रेखा शाहलाई प्रदान गरियो ।

यसैगरी नातिकाजी राष्ट्रिय संगीत प्रतिभा पुरस्कार संगीतकार मनराजा नकर्मी, गीतकार भुपेन्द्र खड्का, गायक प्रल्हाद तिमिल्सिना र गायिका टिका प्रसाईंलाई प्रदान गरियो ।