निर्वाचनपछि बाम गठबन्धनको सरकार बन्छः अध्यक्ष ओली

१९ कार्तिक २०७४, आईतवार १३:१४

कात्तिक १९, ताप्लेजुङ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन पछि मुलुक समृद्धिको दिशामा जाने र जनचाहना अनुसारको शासन सत्ता सञ्चालन हुने बताएका छन् ।

वाम गठवन्धनले संयुक्त रुपमा ताप्लेजुङको तोक्मे डाँडामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले अबको एकमात्र राजनीतिक उद्देश्य समृद्धि भएको र निर्वाचन पछि मुलुक समृद्धिको दिशामा जाने दावी गरे ।  अध्यक्ष ओलीले वाम गठबन्धन यही स्वार्थ पूर्तिका लागि मात्र भएको र अबको दुई महिनमा सरकार बन्ने र त्यस पछि मुलुकमा रहेको बेरोजगारीे अन्त्य र गरिब, विपन्न एवं उत्पीडितको हक अधिकारको संरक्षण गर्ने गरी वाम गठबन्धनल चुनावी घोषणा पत्र समेत सार्वजनिक गरेको बताए ।  सचिव योगेश भट्टराईको चुनावी क्षेत्रलाई सम्बोधन गर्न ताप्लेजुङ पुगेका अध्यक्ष ओलीले आफ्नो पार्टीका युवा नेता तथा केन्द्रीय सचिव योगेश भट्टराई भबिष्यको राम्रो सम्भावना भएको सक्रिय युवा नेता भन्दै ताप्लेजुङका जनतालाई मतदान गरी विजयी गराउन अनुरोध समेत गरे ।

 

‘योगेशलाई साँसद बनाएर पठाउनुहोस् मन्त्री बनाएर फर्काउने जिम्मा मेरो भो ।’ अध्यक्ष ओलीले भने । उनले चुनावपछि एमाले र माओवादीबीच एकता हुने बताए ।  सभालाई सम्बोधन गर्दै एमाले सचिव एवम् वाम गठबन्धनका उम्मेदवार योगेश भट्टराईले अब एमाले र माओवादी केन्द्रले आगमी ५० बर्ष मुलुक चलाउने दाबी गरे ।  सभालाई सम्बोधन गर्नुअघि अध्यक्ष ओलीले जननेता मदन भण्डारीको ताप्लेजुङको ढुङ्गेसाँघुमा रहेको घरको अवलोकन समेत गरेका थिए ।

आइतबारदेखि पूर्वको ताप्लेजुङबाट शुरु भएको सभा आगामी २६ गते पश्चिमको दार्चुला पुगेर समापन हुनेछ । एमाले र माओवादीको पार्टी एकताको सन्देश दिन र आगामी चुनावमा वाम गठवन्धनलाई जिताउन ताप्लेजुङ(दार्चुला अभियान शुरु गरिएको एमालेले जनाएको छ ।
अभियान अन्तर्गत बिभिन्न जिल्लाहरुमा हुने सभालाई एमाले र माओवादीका शीर्ष नेताहरुले सम्वोधन गर्ने कार्यक्रम छ ।  अभियान शुरु हुने दिन आइतबार ताप्लेजुङको सभालाई ओली र माओवादी अध्यक्ष प्रचण्डले संबोधन गर्ने बताइए पनि प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र चितवन–३ को पूर्वनिर्धारित कार्यक्रममा व्यस्त भएकाले ताप्लेजुङ आउन पाएनन् ।