
काठमाडौं , प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारी जग्गा हडप्न सरकारकै मन्त्रीहरु सक्रिय रहेको बताउनु भएको छ ।
उहाँले यस विषयमा पार्टीले संसद र सडकबाट कडा विरोध गर्नुपर्ने बताउनु भयो । कम्युनिष्ट सरकारबाट नीजि क्षेत्र पोस्नेगरी भएको निर्णय राज्य दोहन र बदमासी भएको भन्दै उहाँले यसमा सशक्त आवाज उठाउनुपर्ने बताउनु भएको हो ।
सामाजिक सञ्जाल फेसबुकमा नेता कोइरालाले पोष्ट गर्नु भएको छ , ‘सगरमाथा राष्ट्रिय निकुञ्जको जग्गा,काठमाडौस्थित गोकर्ण जंगल र दरबारमार्गको जग्गा सरकार र मन्त्रीहरुको मिलेमतोमा ऐन नै संशोधन गरेर यति होल्डिङ्सलाई दिएको छ। राज्य दोहनको चरम उदाहरण हो यो। मुलुकका लागि यो भन्दा बदमासी के हुन सक्छ ? यस बिषयमा जनताले सरकार र मन्त्रीहरुसँग प्रश्न गर्ने समय आएको छ।’
उहाँले थप लेखनु भएको छ, ति होल्डिङ्सलाई दिइएको जग्गा, वालुवाटार जग्गा र झापास्थित प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा भएको ५० बिघाभन्दा बढी जग्गाका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम प्रभावकारी देखिएन। यस्ता विषयमा नेपाली कांग्रेस पार्टीले संसद र सडकबाट जोडदार आवाज उठाउनुपर्छ।’
