अमेरिकाको डकोटामा बिमान दुर्घटना हुँदा ९ जनाको ज्यान गयो ३ जना घाइते

१५ मंसिर २०७६, आईतवार १२:१४

वासिङ्टन , संयुक्तराज्य अमेरिकाको साउथ डकोटा राज्यमा शनिबार भएको बिमान दुर्घटनामा नौ जनाको ज्यान गएको छ । स्थानीय उद्धारकर्मीका अनुसार हिउँदे हिउँआँधिमा परेर दुर्घटनाग्रस्त भएको उक्त बिमानमा यात्रारत अरु तीन जना सख्त घाइते भएका छन् ।

ज्यान जानेहरुमा दुई बालबालिका समेत रहेका छन् ।अमेरिकी संघीय उड्डयन कार्यालयका अनुसार एकल इन्जिनको पिलाटस पिसी–१२ नामको उक्त बिमान च्याम्बरलेन बिमानस्थलबाट उडेको केही समयभित्रै दुर्घटनाग्रस्त भएको हो । ज्यान जानेहरुमा बिमानका पाइलट पनि रहेका छन् ।
अमेरिकी सञ्चार माध्यमका अनुसार घाइतेहरुलाई राज्यको सिओक्स फल्स नामक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । अमेरिकी नागरिक उड्डयन कार्यालयले उक्त बिमान दुर्घटनाका बारेमा छानबिन थालेको जनाएको छ ।