
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीचको भाइचारा सम्बन्धलाई नयाँ उचाइका साथ अघि बढाइने भएको छ ।
सत्तारूढ नेकपाले दुई पार्टीबीचको भाइचारा सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन अध्यक्षकै नेतृत्वमा पार्टीको उच्चस्तरीय भ्रमण टोली चीन पठाउने भएको हो ।
सोहीअनुसार (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ६० सदस्यीय टोली लिएर १० दिने भ्रमणका लागि चीन जाने कार्यक्रम तय गरिएको हो ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा दाहाललगायतको टोली २४ मंसिरमा चीन जाँदै छ । नेकपा स्कुल विभागको समन्वयमा हुने दाहालको चीन भ्रमण टोलीमा पार्टी स्थायी कमिटीका नेताहरूको समेत सहभागिता हुनेछ । भ्रमणमा १० भन्दा बढी स्थायी समितिका सदस्यहरू सहभागी हुने जनाइएको छ ।
दाहाल तीन दिन मात्रै चीनमा बस्ने र भ्रमण टोलीका बाँकी सदस्यहरू १० दिनसम्म बस्ने बताइएको छ । चिनियाँ राष्ट्रपति सीको हालै सम्पन्न नेपाल भ्रमणपश्चात् नेपाली टोलीको यो भ्रमण उच्चस्तरीय रहेको छ ।
चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण र दुई कम्युनिस्ट पार्टीबीच काठमाडौंमा भएको छलफलका क्रममा अध्यक्ष दाहाललाई चीन भ्रमणको निम्तो दिएका थिए ।
दुई महिनाअघि चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग र नेकपाको स्कुल विभागले काठमाडौंमा सी विचारधाराबारे छलफल गरेका थिए । त्यसक्रममा दुई कम्युनिस्ट पार्टीबीच भाइचाराको सम्बन्ध स्थापना गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार यो भ्रमण तय भएको नेकपा स्कुल विभागका उपप्रमुख वेदुराम भुसालले बताए ।
दाहाल नेतृत्वको भ्रमण टोलीमा स्थायी समिति सदस्य भीम रावल, टोपबहादुर रायमाझी, रघुजी पन्तसहित नेताहरूका साथै प्रेम आले, यज्ञराज सुनुवार, भानुभक्त जोशीलगायतका नेताहरू रहनेछन् । भ्रमणटोलीमा पार्टीका केन्द्रीय सदस्य र केही जिल्ला अध्यक्ष रहने बताइएको छ ।
यसैबीच नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल टर्की र मेसोडोनियाको भ्रमण गरी शनिबार स्वदेश फर्किएका छन् ।
टर्कीको इस्तानबुलमा आयोजित ‘दसौं बोस्फोरस सम्मेलन’ मा सहभागी हुन उनी ६ मंसिरमा त्यसतर्फ प्रस्थान गरेका थिए । टर्कीपछि उनी मेसोडोनिया गएका थिए । मेसोडोनियामा रहँदा उनले त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गरेको नेपालका स्वकीय सचिव मोहन गौतमले बताए । यो समाचार आजको राजधानी दैनिकमा छ ।
