सवारी चालक अनुमतिपत्रमा रहेको ढिलाइ कहिले हट्छ सरकार ?

११ मंसिर २०७६, बुधबार १५:०२

काठमाडौं– सवारी चालक अनुमतिपत्रमा रहेको ढिलाइ अझै पनि हटेको छैन । बिभागले एक महिना अघि मास प्रिन्टर (ठूलो क्षमताको छपाइ उपकरण) सञ्चालनमा आउने दावी गरे पनि अहिले सम्म सञ्चालनमा आएको पाइएको छैन ।
अनुमतिपत्रका लागि सेवाग्राहीले आवेदन दिएको एक वर्ष नाघ्दासमेत सवारी चालक अनुमतिपत्र कसैको हातमा पर्न सकेको छैन । सेवाग्राहीहरु कार्यालय धाउँदा धाउँदै थाकि सकेका छन । उनीहरु सास्ती मात्र भोग्न बाध्य भएका छन । समयमा सेवाग्राहीहरुर्ले सवारी चालक अनुमतिपत्र नपाउदा निराश बनेका छन ।
काठमाडौँ उपत्यकामा सेवाग्राहीले आवेदन दिएकै दिनमा अनुमतिपत्र पाउने व्यवस्था मिलाइने बिभागले बताउदै आए पनि अहिले सम्म सेवाग्राहीले अनुमतिपत्र पाउन नसक्नु कसको दोष हो सरकार ? सेवाग्राहीको हो कि कार्यालयको ? यति बेला प्रश्न उठेको छ ।

‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउनका लागि सरकारले गत वर्ष नै ठूलो सङ्ख्यामा एकैपटक छाप्न ‘मास प्रिन्टर’ खरीद गरेको थियो । उपकरणले चाँडो काम गर्ने भएकैले विभागले ठूलो सङ्ख्यामा अनुमतिपत्र छाप्नुपर्ने भएकाले रु १० लाख कार्ड खरीदका लागि पनि ठेक्का सम्झौता गरेको थियो ।
विभागले गत वर्ष ग्लोबल खरीद प्रक्रियामार्फत मदरास प्रिन्टर प्रालिमार्फत प्रिन्टर खरीद गरेको हो । अहिले विभागमा रहेको मुद्रणयन्त्र (छपाइ मेसिन) को क्षमताभन्दा धेरै कार्ड छाप्नुपर्ने भएकाले सेवाग्राहीले आवेदन दिएको एक वर्ष नाघ्दासमेत अनुमतिपत्र पाएका छैनन् ।

स्मार्ट चालक अनुमतिपत्र छपाइमा ढिलाइ हुँदा सेवाग्राही हैरान भएका छन् । अर्घाखाँचीका श्रीधर खनाल , दिपक भुसाल , गुल्मीका किशोर ज्ञवाली र बुटवलका राजेश खनालले स्मार्ट चालक अनुमतिपत्र बने÷नबनेको बुझ्न पटक पटक कार्यालय पुग्दा पनि नबनेको भन्दै फर्कन परिरहेको उनीहरु बताए ।