
काठमाडों , प्रधानमन्त्री केपी शर्मा ओलीले अब गठन हुने मन्त्रिपरिषद्मा नेकपाका नेता भीमबहादुर रावललाई उपप्रधानमन्त्री बनाउने तयारी गर्नु भएको छ ।
प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डबीच मन्त्री परिवर्तन गर्ने सहमति यसअघि नै भइसकेको छ । नयाँ मन्त्रिपरिषद्मा पर्ने अरु मन्त्रीको नाम फाइनल हुन बाँकी रहे पनि नेता रावलचाँही पर्ने पक्का भएको हो । सुदूरपश्चिमबाट धेरैपल्ट मन्त्री भएका नेता रावललाई शक्तिशाली मन्त्रालयसहित उपप्रधानमन्त्री बनाउने र प्रधानमन्त्री स्वास्थ्योपचारको लागि लामो समय नेपालबाहिर बस्नुपर्ने भएकाले कार्यवाहक प्रधानमन्त्री बनाउन प्रम ओली सहमत भएको बताइएको छ ।
उहाँ यसअघिकै मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री भइसकेकाले अरु उपप्रधानमन्त्रीभन्दा माथिल्लो बरियतामा हुने भएकाले उहाँलाई कावा प्रम बनाउँदा खासै बिवाद नहुने प्रम ओलीको आंकलन छ ।
अहिलेका उपप्रधानमन्त्री रहेका ईश्वर पोखरेलभन्दा राष्ट्रवादी छवि बनाएका र कमाण्ड गर्नसक्ने क्षमता भएकाले रावलमाथि ओलीले विश्वास गरेको स्रोतले बताएको छ । यसअघि प्रधानमन्त्री ओली उपचारको लागि विदेश रहँदा उताबाटै मन्त्रिपरिषद्को अध्यक्षता गरेर बैठक सञ्चालन गर्नु भएको थियो ।
आफूलाई राष्ट्रवादी नेता बताउने रावलले यो सरकार गठन भएसँगै सरकारको तिखो आलोचना गर्दै आउनु भएको थियो । पार्टीभित्रै प्रतिपक्षजस्तो भूमिकामा प्रस्तुत हुनुभएका रावलप्रति सुरुका दिनमा ओली सकारात्मक नभएपनि उहाँको विरोध र अडानसामु प्रम गलेको एक नेताले जानकारी दिनु भयो ।
