उपनिर्वाचनको प्रचार प्रसारले राजनीतिक तापमान बढाउँदै

१ मंसिर २०७६, आईतवार १०:११

काठमाडौं, तापमान घट्ने र चिसो बढ्ने क्रम जारी रहँदा उपनिर्वाचनको राप भने बढेको छ । मङ्सिर १४ गते शनिबार हुने स्थानीय तह, प्रदेश सभा सदस्य र प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको प्रचार प्रसारले राजनीतिक तापमान बढाएको हो ।

प्रदेश सभा सदस्य र प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि कात्तिक २१ गते उम्मेदवारी दर्ता भई राजनीतिक दलले प्रचार प्रसारलाई तीव्र बनाएका छन् । स्थानीय तहका लागि कात्तिक २७ मा उम्मेदवारी दर्ता भई मङ्सिर १ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेपछि उम्मेदवारको औपचारिक प्रचार अभियान सुरु हुने भए पनि प्रचारप्रसारका चङ्गाले भने यसअघि नै उचाइ लिँदैछ ।

उपनिर्वाचनलाई मूलरूपमा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रतिष्ठाको विषय बनाउँदा पनि आवश्यकताभन्दा बढी चर्चा पाउन थालेको छ । पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले उपनिर्वाचनमा मतदाताले सामूहिक निर्णयको परिणाम दिन्छन्, सरकार तथा प्रतिपक्षी र अन्य दलको लोकप्रिय कस्तो छ भन्ने मतदानमार्फत प्रियता परीक्षण हुने बताए ।

प्रतिनिधि सभा सदस्य एक, प्रदेश सभा सदस्य एक र स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाअध्यक्ष ४३ समेत ३७ जिल्लाका ५२ स्थानमा उपनिर्वाचन हुन गइरहेको छ । यसअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का उम्मेदवारहरू अधिकांश स्थानमा विजयी भएका थिए भने काँग्रेसका उम्मेदवार १४ स्थानमा विजयी भएका थिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।