ढाका, एएनआई बङ्गलादेशमा बुलबुल नाम दिइएको आँधीका कारण आइतबार चार जनाको मृत्यु भएको बङ्गलादेशका अधिकारीहरूले बताएका छन् ।करिब सय किलोमिटर प्रतिघण्टाको गतिमा शनिबार ८ः३० बजे पश्चिम बंगालबाट बङ्गलादेशको उत्तरपूर्वी क्षेत्रतर्फ आँधी आएको थियो । आँधीका कारण करीब तीन लाख मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।
आँधीबाट पर्नसक्ने जोखिमलाई मध्यनजर गर्दै उनीहरू सुरक्षित स्थानमा सारिएको बंगलादेशी विपद व्यवस्थापन मन्त्रालयले जानकारी दिएको हो । यद्यपि आइतबार परेको बर्षापछि बुलबुलको प्रभाव शान्न बन्दै गएको छ ।मन्त्रालयले कुल १८ लाख मानिस बुलबुलको कारण प्रभावित बन्नसक्ने भन्दै उनीहरूलाई सुरक्षित स्थानमा सार्ने तयारी गरेको थियो । बंगलादेशको भोला, बरगुना, पटुवाखाली, बरिसाल, पिरोजपुर, जलकाठी, बागेरहाट, खुलना र सातखिरा जिल्लाका नागरिकलाई सुरक्षित स्थानमा सारिएको हो ।