प्रधानमन्त्री केपी ओली र ‘प्रचण्ड’बीच मन्त्रिपरिषद् हेरफेरको विषयमा संवाद

२४ कार्तिक २०७६, आईतवार २०:४६

काठमाडौं , प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद् हेरफेरको विषयमा संवाद भएको छ। आइतबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब दुई घण्टा संवाद भएको हो।

केही नयाँ मन्त्री ल्याउने र केही हटाउने विषयमा संवाद भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार उद्योगमन्त्री मातृका यादवलाई हटाएर उहाँको स्थानमा प्रभु शाहलाई मन्त्री बनाउने विषयमा छलफल भएको बताइएको छ । त्यसै गरि महिला बालबालिकामन्त्री थममाया थापालाई हटाएर उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई मन्त्री बनाउने विषयमा पनि छलफल भएको बुझिएको छ । अन्य मन्त्रीका विषयमा पनि छलफल भएको स्रोतको दाबी छ।

स्वास्थ्यमा सुधार आएपछि प्रधानमन्त्री ओलीले आफू नयाँ ढंगले काम गर्न लागेको उहाँका विश्वास पात्रलाई बताउँदै आउनु भएको छ । उहाँले नयाँ ढंगले अगाडि बढ्ने भन्दै शुक्रबार बालुवाटार बैठकमा सल्लाहकारलाई संयुक्त राजीनामा दिन निर्देशन दिनु भएको थियो ।