उपसचिव हरिहर पौडेल सम्मानित

२४ कार्तिक २०७६, आईतवार १९:३८

विराटनगर, विराटनगरको पाणिनि संस्कृत विद्यालयले प्रदेश नम्बर १ को अर्थ मन्त्रालयका उपसचिव हरिहर पौडेल र वरिष्ठ समाजसेवी एवम् उद्योगपति दीनबन्धु गोयललाई शनिबार सम्मान गरेको छ ।

उपसचिव पौडेल र समाजसेवी गोयल दुबै जनाले संस्कृत वाङ्मयको उत्थानका लागि विशेष भूमिका निर्वाह गरेको तथा विद्यालयलाई महत्त्वपूर्ण सहयोग पुर्याएको भन्दै पाणिनिले सम्मान गरेको हो ।

शिक्षासेवी पंखगेश्वर न्यौपानेका अग्रसरतामा २०५५ सालमा स्थापना गरिएको सो विद्यालयले शनिबार आफ्नो २२ औँ साधारण सभाका अवसरमा दुबैलाई सम्मान गरेको हो । विद्यालयका संस्थापक अध्यक्ष पंं न्यौपानेको निधन भइसकेको छ ।

साधारण सभाका प्रमुख अतिथि एवम् सनातन धर्म सेवा समिति विराटनगरका अध्यक्ष शिवदत्त भट्टराईले सम्मानित दुबै जनालाई दोसल्ला, सम्मानपत्र र माला प्रदान गरेका थिए ।

समाजसेवी गोयल कार्यक्रममा अनुपस्थित भएकाले उनको सम्मानपत्र, दोसल्ला र माला सत्यनारायण मन्दिरका अध्यक्ष भिखमचन्द सरलले ग्रहण गरेका थिए ।

प्रमुख अतिथि भट्टराईले पूर्वीय दर्शन संसारका सबै दर्शनको मूल भएको विचार व्यक्त गर्दै यो दर्शनको संरक्षणका लागि संस्कृत भाषाको संवर्धन र प्रसार आवश्यक रहेको धारणा प्रकट गरे ।

साधारण सभामा स्वतन्त्रता सेनानी एवम् समाजसेवी रमाप्रसाद रिजालले विद्यालयको समुन्नतिका लागि २ लाख रुपैयाँ प्रदान गर्ने वचन दिए ।

विद्यालयका अध्यक्ष प्राध्यापक कविराज न्यौपानेले विद्यालयमा हाल २५ विद्यार्थीलाई निःशुल्क आवास, भोजन र वस्त्रसहित संस्कृत शिक्षा प्रदान भइरहेको जानकारी दिए ।

विद्यालयका कार्यवाहक सचिव पद्मप्रसाद गौतमले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरे । साधारण सभामा सम्मानित पौडेल, प्राध्यापक कोषराज न्यौपाने, प्राज्ञ दधिराज सुवेदी, समाजसेवी सुरेशकुमार शर्मा र पद्मा रिजालले पनि मन्तव्य प्रकट गरेका थिए ।