कालापानीबाट भारतीय सेना फिर्ता गर्नुपर्छः कमल थापा

२३ कार्तिक २०७६, शनिबार १९:३८

काठमाडौं , प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी सर्वदलीय बैठकमा नेपाली भूमि कालापानीमा राखिएका भारतीय सैनिक फिर्ता गर्नुपर्ने अडान दलहरुले प्रस्तुत गरेका छन्। लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि रहेकोबारेमा कुनै विवाद नरहेको जनाउँदै दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालतर्फ अतिक्रमण गरेर बसेका भारतीय सैनिक फिर्ताका लागि कूटनीतिक पहल थाल्न सुझाएका छन्।

बैठकमा आफ्ना कुरा राखेर बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भारतले नेपाली भूमि मिचेको मुद्दामा दलहरु एकैठाउँ रहेको बताउनु भयो । ‘लिपुलेक, कालापानी र लिम्पियाधुराबारे सबै दल एकमत छन्। यो संवेदनशील विषयमा प्रम केपी शर्मा ओलीले सर्वपक्षीय बैठक बोलाउनु भएको रहेछ’, उहाँले भन्नु भयो , ‘बैठकका प्रायः सबै वक्ताहरुले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको नेपालको भूभागबारे कुनै विवाद द्विविधा नरहेको मत राख्नुभयो। आफ्नो भूभागको सुरक्षा र संरक्षणमा नेपाल प्रतिवद्ध रहने कुरामा सबै सहमत छौँ।’ अध्यक्ष थापाले भारत सरकारले आफ्नो नक्सामा नेपालको भूभाग पारेकोमा सबैले विरोध गरेको पनि जानकारी दिनु भयो ।

अध्यक्ष थापाले आफूले बैठकमा परराष्ट्र सचिवतहको संयुक्त आयोगको बैठक बोलाउन सरकारले पहल गर्नुपर्ने सुझाव बैठकमा दिएको पनि जानकारी दिनु भयो । ‘नेपालले विज्ञप्ति मात्रै होइन, भारतीय पक्षलाई आफ्ना असन्तुष्टि प्रष्टरुपमा सुनानुपर्छ’, उहाँले भन्नु भयो ,‘यससँगै आफ्नो सीमाक्षेत्रमा नेपालले अझै बढी सुरक्षा अवस्थालाई सुदृढ बनाउन सक्नुपर्छ।’