१६ किलो तामा प्रयोग गरी बनाइयो पाथीभरा मन्दिरमा स्वागतद्वार

२१ कार्तिक २०७६, बिहीबार १०:५४

काठमाडौं ,विश्वकै प्रसिद्ध धार्मिकस्थलहरुमध्ये पर्ने ताप्लेजुङको पाथीभरा मन्दिरमा १६ किलो तामा प्रयोग गरी स्वागतद्वार निर्माण गरिएको छ । ‘भक्तजनको सामग्री, भक्तजनकै लागि’ भन्ने उद्देश्यसहित स्वागतद्वार निर्माण गरिएको हो ।

पाटनका राजन शिल्पकारद्वारा बनाइएको द्वारमा १६ हजार किलो तामा प्रयोग भएको बताइएको छ । पाथीभराको उत्पत्ति कथा झल्कने गरी द्वार निर्माण गरिएको छ ।
पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बर्द्धन समितिका अध्यक्ष तारानाथ घिमिरेले पाथीभरा मन्दिरमा भक्तजनले चढाएको तामाका माना, पाथी, त्रिशूल, दियोजस्ता सामग्रीलाई उजिल्याएर द्वार निर्माण गरिएको जानकारी दिए ।

उक्त द्वार निर्माण गर्न २४ लाख रुपैयाँ खर्च भएको समितिले जानकारी दिएको छ । मन्दिरबाट तामाका सामग्री काठमाडौं पुर्‍याएर त्यसलाई उजिल्याएर पातारपाता बनाएर ल्याएर जडान गरिएको हो । तामा मात्र प्रयोग गरी स्वागतद्वार निर्माण भएपछि अहिले तीर्थालुको व्यापक भीड लागेको छ ।