कात्तिक १६, ललितपुर । डिआईजीबाट राजिनामा दिई एमालेमा प्रवेश गरेका नवराज सिलवालले ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गराएका छन् ।
वाम गठबन्धनका तर्फबाट बिहिबार तामझामका साथ मनोनयन दर्तास्थल पुगेका उनले उम्मेदवारी दर्ता गराएपछि प्रतिक्रिया दिँदै आफूलाई राज्यले अन्याय गरे पनि जनताले अन्याय नगर्ने दाबी गरे ।
मनोनयन दर्तापछि सिलवालले भने, ‘न्याय माग्न जनतामा आएको छु । जनताले मलाई न्याय गर्नेछन् । राज्यले गरेको अन्याय म जनताबाट माग्छु ।’
उनले विगतमा आफू कानून लागू गर्ने ठाउँमा भएको र आज देश समृद्ध बनाउने ठाउँमा आएको भन्दै अमूल्य मत दिएर विजयी गराउन आह्वान गरे ।
सिलवालले निर्वाचनपछि वामपन्थी सरकार बनेर देश विकास हुने समेत बताए ।