
मोरङ , बुढीगंगा गाउँपालिका १ को सेन्चुरी मसला उद्योग नजिकै बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
विराटनगरबाट दुहवीतर्फ जाँदै गरेको को १ ख ७२३२ नम्बरको यात्रुवाहक बसले दुहवीबाट विराटनगरतर्फ आउँदै गरेको को २७ प १०२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बावु र छोरीको ज्यान गएको हो ।
बसको ठक्करबाट बुढीगंगा गाउँपालिका ५ का ५२ वर्षीय आँखा विशेषज्ञ डा शुभलाल माझी र न्यूरो अस्पताल विराटनगरमा कार्यरत २६ वर्षीय उहाँकी छोरी अञ्जलीकुमारी माझीको मृत्यु भएको नेमुवा ट्राफिक प्रहरी इञ्चार्ज तुलामणि आचार्यले जानकारी दिनुभयो ।
बावु छोरीको विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
