आलम प्रकरणः अनुसन्धान अधिकृत नै छानबिनमा

८ कार्तिक २०७६, शुक्रबार ०९:१६

काठमाडौं, नेपाली कांग्रेस रौतहटका नेता एवं प्रतिनिधिसभा सदस्य महम्मद आफताब आलम पक्राउ परेपछि राजपुर बम विस्फोटका बेला जिल्लामा कार्यरत र अनुसन्धान गर्न खटिएका सबै अधिकृत अनुसन्धानको दायरामा पर्ने भएका छन्।

सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले प्रहरीलाई असार ६ गते तत्कालीन अनुसन्धान अधिकृतहरूलाई समेत छानबिनको दायरामा ल्याएर सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएको थियो।

अधिवक्ता पुष्पराज पौडेलले जिल्ला प्रहरी कार्यालय रौतहटका नाममा दिएको अवहेलना निवेदनको सुनुवाइ गर्दै उक्त इजलासले ‘कुन–कुन अवधिमा को–को अनुसन्धान अधिकृत नियुक्त भई अनुसन्धान के–कसरी अगाडि बढाइएको हो, त्यसको जानकारी लिनू र समन्वय गरी अगाडि बढ्नू’ भन्ने आदेश दिएको थियो।

प्रहरीले यसअघि अनुसन्धान प्रभावित बनाउन खोजेको आरोपमा तत्कालीन प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरीका जिल्ला प्रमुख र सरकारी वकिल कार्यालय रौतहत प्रमुखलाई छानबिनको दायरामा ल्याउने जनाइसकेको छ।

तत्कालीन जिल्ला प्रहरी प्रमुख लक्ष्मण न्यौपानेको मृत्यु भइसकेको र सशस्त्र प्रहरीका तत्कालीन प्रमुख रामकृष्ण लामा, तत्कालीन प्रजिअ दुर्गा भण्डारी तथा सरकारी वकिल कार्यालय रौतहटका तत्कालीन प्रमुख ध्रुवमणि ज्ञवाली छानबिनको दायरामा तानिने भएका हुन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।