प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान

७ कार्तिक २०७६, बिहीबार १८:४८

काठमाण्डौ , प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा सहभागी हुन अजरबैजान प्रस्थान गर्नुभएको छ ।

प्रधानमन्त्री ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बिहीबार अजरबैजानको राजधानी बाकु प्रस्थान गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीको प्रतिनिधि मण्डलमा पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री ज्ञवाली, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास बैरागी लगायतका परराष्ट्र अधिकारीहरुको सहभागिता रहेको छ ।

शुक्रबार र शनिबार बाकुमा हुने सम्मेलनमा विभिन्न देशका सरकार प्रमुख र राष्ट्र प्रमुखहरु सहभागी हुनेछन् ।

प्रधानमन्त्री ओलीले सम्मेलनको क्रममा विभिन्न देशका सरकार प्रमुख र राष्ट्र प्रमुखहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली कात्तिक १० गते आइतबार स्वदेश फर्कनुहुनेछ ।