सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले सभामुखको निर्वाचन तत्काल हुने अवस्था छैनः देव गुरुङ

३ कार्तिक २०७६, आईतवार १६:४८

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देवप्रसाद गुरुङले तत्काल सभामुखको निर्वाचन हुने अवस्था नरहेको बताउनु भएको छ । उहाँले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले तत्काल निर्वाचन हुने अवस्था नरहेको बताउनु भएको हो । प्रमुख सचेतक गुरुङले एउटै दलको सभामुख र उपसभामुख हुन नपाउने भन्दै सर्वोच्च अदालतमा दायर गरिएको मुद्दा विचाराधीन रहेकाले सभामुखको निर्वाचनबारे टिकाटिप्पणी गरिरहन नमिल्ने बताउनु भयो ।

आईतबार काठमाडौंमा संवाद चौतारी द्धवारा आयोजित कार्यक्रममा बोल्दै उहाँले सभामुखको निर्वाचन हुनका लागि उपसभामुखले राजीनामा दिनुपर्ने अवस्था रहेको बताउनु भयो । सभामुख र उपसभामुख दुवै पद खाली भए दलहरुबीच सहमतिको आधारमा उम्मेदवार तय गरेर निर्वाचन गर्न सकिने प्रमुख सचेतक गुरुङको बुझाई छ ।

प्रमुख सचेतक गुरुङले सभामुखको निर्वाचन गर्ने अवस्थानै नभएका बेला त्यसमा व्यक्तिले दावी गर्नुको कुनै औचित्य नरहेको पनि बताउनु भयो ।