मन्त्रिपरिषद् हेरफेर गर्ने कुरा प्रधानमन्त्रीको हातमा छः मन्त्री बस्नेत

२ कार्तिक २०७६, शनिबार १८:२४

बुलबुले , वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रिपरिषद् हेरफेर गर्ने प्रधानमन्त्रीको अधिकार भएको बताउनु भएको छ । प्रेस सङ्गठन सुर्खेतले आज गरेको पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले मन्त्रिपरिषद् कस्तो बनाउने र मन्त्रीहरु हेरफेर गर्ने अधिकार प्रधानमन्त्रीकै हातमा रहेको बताउनु भयो ।

‘मन्त्रिपरिषद् परिवर्तन गर्ने कुरा प्रधानमन्त्रीको कुरा हो, उहाँको सहजताका लागि हो, उहाँले केही हेरफेर गर्न सक्नुहुन्छ’, उहाँले भन्नु भयो । पत्रकारको प्रश्नमा मन्त्री बस्नेतले मन्त्री परिवर्तनको विषय नयाँ नभएको र बाहिर आएजस्तो गरी मन्त्रिपरिषद् हेरफेरको चर्चा नभएको स्पष्ट पार्नु भयो ।

मन्त्री बस्नेतले कर्णाली प्रदेशलाई विकासको राष्ट्रिय मूलप्रवाहमा सहभागी गराउने पनि बताउनु भयो ।कर्णालीको विकासमा सबैको भूमिका आवश्यक भएको भन्दै मन्त्री बस्नेतले यो वर्ष आर्थिक, सामाजिक विकासको बर्ष हुने बताउनु भयो । आर्थिक विकास र संरचना निर्माण सरकारको पहिलो प्राथामिकता भएकाले अब सबैतिर विकासले गति लिने बताउनु भयो ।