विविधताको एकतालाई कसैले विखण्डन गर्न सक्दैनः प्रधानमन्त्री ओली

२९ आश्विन २०७६, बुधबार १८:१५

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा बुधबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा सम्बोधन गर्दै आफ्नो देश आफैले बनाउनु पर्ने बिचार ब्यक्त गर्नु भएको छ ।

उहाँले जनताका लागि धेरै काम भएको बताउनु भयो । ‘बृद्ध भत्ता बृद्धि, बिजुलीमा जनताको लगानी, पोखरा र भैरहवा विमानस्थल, द्रुत मार्गको निर्माण द्रुत, पेट्रोलियम पाइपलाइन शुरुआत, सयौँ पुल निर्माण भएका छन्’ प्रधानमन्त्री ओलीले भन्नु भयो, ‘कोशीमा स्टिमर सञ्चालन, वैदेशिक लगानीमा वृद्धि, चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण, बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण कार्य सम्पन्न भएका छन्।’

प्रधानमन्त्री ओलीले नेपाल सांस्कृतिकरुपमा समृद्ध रहेको चर्चा गर्दै विविधतामा एकता भएको बताउनु भयो । उहाँले विविधताको एकतालाई कसैले विखण्डन गर्न नसक्ने उल्लेख गर्नु भयो । एकताको बलको आधारमा राष्ट्रिय एकतालाई थप सुदृढ पार्दै समृद्ध नेपाल सुखी नेपाली अभियानमा सरिक हुन उहाँले आह्वानसमेत गर्नु भयो ।