
काठमाण्डौ , राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार म्यानमार जाँदै हुनुहुन्छ । परराष्ट्र मन्त्रालयलका अनुसार म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार बिहान साढे १० बजे म्यानमार जाने तयारी छ ।
मन्त्रालयका अनुसार राजकीय भ्रमणमा जाने राष्ट्रपति भण्डारीले म्यानमारमा समकक्षी मिन्टसँग दुईपक्षीय वार्ता गर्नुहुनेछ । उहाँले म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकीसँग पनि भेट गर्ने कार्यक्रम छ । उहाँले पिङ ओ लिङमा रहेका नेपालीभाषीसँग पनि भेट्ने कार्यक्रम छ ।
राष्ट्रपति भण्डारी म्यानमारबाटै जापान पनि जाने तयारी छ । जापानका नयाँ राजा नारुहितोको गद्दी आरोहण समारोहमा पनि राष्ट्रपति भण्डारी उपस्थित हुनुहुनेछ । म्यानमार र जापानको भ्रमण सकेर राष्ट्रपति भण्डारी आउँदो ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।
