
काठमाण्डौ , चिनियाँ राष्ट्रपति सी जिनपिङ स्वदेश फिर्ता हुनुभएको छ । नेपालको दुईदिने राजकीय भ्रमणमा आउनुभएका सी जिनपिङ भ्रमण सकेर उहाँ आइतबार दिउँसो त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट स्वदेश फिर्ता हुनुभएको हो । उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमै पुगेर बिदाई गर्नु भयो । बिदाइ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीपरिषद्का सदस्य लगायतको सहभागिता रहेको थियो ।
सोल्टी होटेलबाट विमानस्थल फर्कने क्रममा राष्ट्रपति सीलाई बिदाइ गर्न सडकमा सरकारी कर्मचारी, सर्वसाधरणको उल्लेख्य सहभागिता थियो । बिदाइका क्रममा नेपाली सेनाले सम्मान अर्पण गरेको थियो । समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणामा उहाँ शनिबार साँझ काठमाण्डौ आउनुभएको थियो ।
